पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल : तोकिएको भन्दा ६ महीना पहिले निर्माण सकिँदै

Share News
कास्की । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण तोकिएको अवधिभन्दा ६ महीना पहिले सम्पन्न हुने भएको छ । तोकिएको अवधिभन्दा पहिले नै निर्माण सम्पन्न गर्ने गरी कामले गति लिएको विमानस्थल निर्माण आयोजना प्रमुख बिनेश मुनकर्मीले जानकारी दिए । विमानस्थलको काम २०७८ असार २६ गतेभित्र सकिनुपर्ने समयसीमा तोकिएको छ । चिनियाँ निर्माण कम्पनी सीएएमसीईले गत वर्षको साउन १८ गतेदेखि विमानस्थल निर्माण थालेको थियो । २०७६ पुससम्म रनवे निर्माण सक्ने र टर्मिनल भवन २०७७ असारसम्ममा सक्ने लक्ष्य छ । सरकारले २०७१ मा सीएएमसीईलाई ठेक्का दिएको थियो । मुनकर्मीका अनुसार हालसम्म ३० प्रतिशतभन्दा धेरै काम पूरा भएको छ । अहिले विमानस्थलको रनवेमा अन्तिम लेयर ढलानको काम धमाधम चलिरहेको छ । तीन तहको ढलान गर्नुपर्ने र तेस्रो चरणको ढलान पनि अन्तिम चरणमा पुगेको इन्जिनीयर कृष्ण पौडेलले जानकारी दिए । साइड सम्याउने काम चलिरहेको छ भने एप्रोन (विमान पार्किङस्थल) को काम सकिएको छ । विमानस्थलका रनवेको लेयर ढलान, ट्याक्सी वे र नाला निर्माण लगायतका कामहरू यही चैतभित्र सम्पन्न हुनेछन् । विमानस्थलको भौतिक संरचना निर्माणको क्रममा टर्मिनल भवनको फाउन्डेसनको काम सकिएको छ । यात्रु कक्ष र कार्यालय प्रयोजनका लागि आवश्यक मुख्य भवनको काम समेत अघि बढेको छ । विमानस्थलमा निर्माणाधीन १४ भवनमध्ये ५ ओटाको निर्माण सकिएको छ । आयोजना प्रमुख मुनकर्मीका अनुसार अहिले निर्माण कार्यमा दैनिक ४५० जना कामदार खटिएका छन् । हालसम्म विमानस्थल आयोजनाले साढे तीन अर्ब रुपैयाँ भुक्तानी दिइसकेको उनले जानकारी दिए । सरकार र चिनियाँ कम्पनीबीच विमानस्थल निर्माण तोकिएको समयमा सम्पन्न नभए कम्पनीले क्षतिपूर्ति तिर्ने सहमति भएको छ । चिनियाँ एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । विमानस्थलको क्षेत्रफल करीब ३७ सय रोपनी छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।