चैत १२, भरतपुर । चितवन माडी नगरपालिका ८ शिवद्वारकी नरदेवी पुनलाई पछिल्लो समय घरबास (होमस्टे) मा आउने अतिथिको स्वागत, सत्कार र घरायसी काममा व्यस्तता बढेको छ । चितवन माडीस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक घरवासमा आउने पर्यटकको संख्या वर्षेनी बढ्दै गएपछि उनको व्यस्तता पनि बढेको हो । सो घरवास २०७२ माघबाट शुरू भएको हो ।
बजारको कोलाहलपूर्ण वातावरणमा बसिरहेका मानिस यतिखेर माडीको घरवासमा शान्ति र आनन्द लिन आउने गरेका छन् । घरवास सञ्चालन भएसँगै नरदेवीजस्तै अन्य स्थानीयवासीको जीवनस्तर र दैनिकीमा समेत परिवर्तन आएको छ । ‘घरवास सञ्चालनमा आएपछि आम्दानीको स्रोत बढेको छ’ उनले भनिन ‘घरवास सञ्चालन भएपछि बाटो बन्यो, बिजुली पनि अयो ।’ हिजोआज हाम्रो दिनचर्या भनेको नै आफ्नो गाउँमा आउने पाहुनालाई स्वागत, सत्कार र सेवामा बित्ने गरेको पुनको भनाइ छ ।
विभिन्न पूर्वाधार संरचना निर्माण गरेर घरवास सञ्चालन गरेपछि अहिले माडी शिवद्वारका स्थानीयवासी आर्थिक उपार्जनका साथै आफ्नो संस्कृति, कला र परम्पराको समेत संरक्षण र प्रचारप्रसार गरिरहेका छन् । घरवास सञ्चालन भएपछि जीविकोपार्जनमा सहजता आएको घरवास सञ्चालक गौमाया पुन बताउंछिन् । उनले घरवासमा आउने पाहुनाको स्वागत सत्कार गर्न पाउँदा आफूलाई आनन्द महसुस हुने गरेको अनुभव सुनाइन् ।
हालसम्म १० हजारभन्दा बढी पर्यटक घरवासमा आएको अयोध्यापुरी मध्यवर्ती सामुदायिक घरवासका अध्यक्ष मोहनबहादुर पुनमगरले बताए । ‘अहिले विदेशी पर्यटक पनि आउन थालेको छन्, उनले भने ‘राष्ट्रिय निकुञ्जबाट पीडित हामी अहिले तिनै वन्यजन्तु देखाएर पर्यापर्यटनको संरक्षणमा जुटेका छौं ।’ प्रत्येक घरवासमा सौर्य उर्जा (सोलार)को व्यवस्था छ भने सबै कोठामा तातो र चिसो पानीको समेत व्यवस्था गरिएको छ ।
पर्यटकको मनोरञ्जनका लागि स्थानीयवासीले आफ्नो संस्कृति झल्कने नृत्यसमेत देखाउने गरेका छन् । साथै पर्यटकलाई स्थानीय खानाको परिकार खुवाइन्छ । ‘शुरुमा हामी स्वागत गर्छौं, घरवास सञ्चालक चन्द्रबहादुर थापा भन्छन् ‘बेलुका मनोरञ्जनका लागि एकै ठाउँमा जम्मा गराएर हाम्रो संस्कृतिको बारेमा जानकारी गराउनुका साथै नृत्य देखाउछौं ।’ पर्यटकका लागि मगर जातिको सोरठी नाच देखाइन्छ । घरवास नजिकै माछापोखरी पनि छन् । त्यहाँ ‘फिसिङ’ गर्न मिल्ने व्यवस्था पनि मिलाइएको छ ।
बास बस्नेबाहेक तालीम गोष्ठीका लागि पनि विभिन्न संघसंस्था यहाँ आउने गरेका छन् । करीब १ सय जना अट्ने गरी तालीम कक्षको व्यवस्था पनि गरिएको छ । अहिले दैनिकरुपमा ठूलो संख्यामा आउने गरेका छन् । घरवास सञ्चालनका लागि चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती उपभोक्ता समिति, नगरपालिका र विभिन्न संघ संस्थाले सहयोग गरेका छन् । संरक्षित वन्यजन्तु बाघ, गैंडा, भालु हात्ती, जरायोलगायत विभिन्न जातका चराचुरुंगीको अवलोकनका लागि महत्वपूर्ण क्षेत्र हो माडी ।
विभिन्न धार्मिक कुण्डका कारण पनि यो क्षेत्रमा आउने पर्यटक वर्षेनी बढ्दो छ । सोमेश्वर र परशुराम कुण्डसमेत यसै क्षेत्रमा पर्ने भएकाले पूजा गर्नका वर्षेनी ठूलो संख्यामा भारतबाट पर्यटन आउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जले सौराहा–पटिहानी र पटिहानी–माडीको पर्यटक पदमार्ग निर्माण गरेपछि माडीमा पर्यटकीय गतिविधिले गति लिएको माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले बताए ।
स्थानीयस्तरमै रोजगारीको अवसरसँगै पर्यापर्यटनको विकास र संस्कृतिको जगेर्ना गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा माडीको घरवास अघि बढेको उनले बताए । माडीमा थप घरवास सञ्चालनको तयारी भइरहेको बताउँदै उनले कृषि पर्यटनमार्फत् माडीको विकास सम्भव भएकाले त्यसका लागि नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको पनि बताए । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।