छिमेकी जिल्लाका जनप्रतिनिधि राहत लिएर बारा पुगे

Share News

चैत १९, रौतहट । रौतहटका स्थानीय जनप्रतिनिधिहरु राहत सामग्री लिएर बारा पुगेका छन् । हावाहुरीबाट प्रभावित बाराको फेटा गाँउपालिकाको पुरनियामा मंगलवार उनीहरुले राहत बितरण गरेका हुन् ।

गढिमाई तथा परोहा नगरपालिकाका जनप्रतिनिधिहरुले प्रभावित स्थानमा पुगेर खाद्यान्न सहितको राहत सामग्री वितरण गरे । रौतहटको गढिमाई नगरपालिकाले सो स्थानमा १ हजार २००किलो चामल, १५ कार्टुन बिस्कुट, २५० किलो चिउरा, ३० कार्टुन चाउचाउ, १०० कार्टुन पानी, १ हजार पीस प्लेट, १०० ओटा ग्लास, ५० थान जाजिम, १०० पिस गम्छा, ५० थान झुल, २ बोरा नुन, १ कार्टुन औषधी राहत स्वरुप वितरण गरिएको गढिमाई नगरपालिकाका नायब सुब्बा नागेन्द्र यादबले बताए । गढिमाई नगरपालिकाका प्रमुख श्याम प्रसाद यादब सहितको कार्यपालिका बैठकले राहत वितरण गर्ने निर्णय गरे बमोजिम सो बस्तिमा पुगेर राहत वितरण गरिएको उनले जानकारी दिए ।

नेपाल नगरपालिका संघ प्रदेश नं २ का अध्यक्ष तथा परोहा नगरपालिका रौतहटका नगर प्रमुख शेख वकिलले पनि प्रभावित बस्तिमा पुगेर राहत सामग्री वितरण गरेका छन् । खाद्यान्न सहितका सामग्री सो स्थानमा पुगेर वितरण गरिएको उनले बताए । चन्द्रनिगाहपुर सिटि जेसिजले पनि प्रभावित बस्तिमा पुगेर राहत सामग्री वितरण गरेको छ ।

आइतवार साँझ बारामा आएको हावाहुरीले पीडित बनेकाहरुलाई चन्द्रनिगाहपुर सिटि जेसिजले विभिन्न संघसंस्थाको सहयोगमा संकलन गरिएको राहत सामग्री वितरण गरेको बताएको छ । यता चन्द्रपुर हस्पिटल प्रालिले भने उपचाररत घाईतेहरुलाई रगतको अभाव हुन नदिन आकस्मिक रक्तदान गरेको छ ।

रौतहटमा रहेका विभिन्न सामाजिक संघ संस्था, समूह, र व्यक्तिहरुले हुरीले प्रभावित भएका बस्तिका पीडितहरुलाई भेटेर राहत दिन थालेका छन् । विभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानीयले सानै भए पनि राहतका विभिन्न सामग्री बोकेर प्रभावित स्थानमा पुगेका छन् । स्वःस्फूर्त सहयोगमा खटिएकाहरुले चाउचाउ, बिस्कुट, चिउरा लगाएत खाद्य सामग्री, पानी र लत्ताकपडा सहयोग गरिरहेका छन् । उनीहरुले भत्किएका घरका सामग्री निकाल्न र पन्छाउन पनि सहयोग गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।