कर्णाली तरकारी र फलफूलमा भारतमाथि निर्भर

Share News
वीरेन्द्रनगर । कृषिजन्य वस्तुको न्यून उत्पादनका कारण कर्णाली प्रदेश तरकारी तथा फलफूलमा भारतमाथि निर्भर रहेको छ । कृषिक्षेत्रमा सरकारले अर्बौं रकमको कार्यक्रम सञ्चालन गर्दा पनि स्थितिमा सुधार देखिएको छैन । सुर्खेतस्थित कृषि बजारस्थलले वार्षिक ९५ करोड रुपैयाँको व्यवसाय गर्दै आएको छ । यसमध्ये झण्डै ६५ करोड रुपैयाँको व्यवसाय भने भारतीय व्यापारीसँग हुने गरेको छ । सुर्खेत जिल्लामा वार्षिक रूपमा ३८ हजार मेट्रिकटन तरकारी र फलफूल आयात हुने गरेको कृषि बजारस्थलका व्यवस्थापक केशर रास्कोटीले बताए । उनका अनुसार त्यसमध्ये ७० प्रतिशत बजार हिस्सा भारतको छ । बाँकी ३० प्रतिशत तरकारी र फलफूल सिजनअनुसार जुम्ला, दैलेख लगायतका ठाउँबाट आउने गरेको छ । उनका अनुसार जुम्लाबाट स्याउ र दैलेखबाट सुन्तलाका साथै अन्य केही जिल्लाबाट तरकारी आउने गरेको छ । भारतबाट तरकारी र फलफूल बोकेका १० गाडी दैनिक रूपमा कर्णाली भित्रने गरेका छन् । सिजनमा न्यून उत्पादनका कारण भारतीय कृषिजन्य वस्तु एक दिन नआउँदा पनि समस्या हुने स्थिति रहेको सुर्खेतका बाबु एण्ड सब्जी मण्डीका सञ्चालक प्रबल शाही बताउँछन् । उनले भने, ‘अहिले कर्णालीको बन्दागोभी मात्रै आउने गरेको छ ।’ कृषिक्षेत्रमा जति रकम खर्चे पनि पर्याप्त सिँचाइ सुविधा उपलब्ध नभएसम्म तरकारी र फलफूलको परनिर्भरता नघट्ने उनले बताए । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तरकारी र फलफूलमा प्रदेश आयातमै निर्भर रहनुपरेको स्वीकार गर्दैे आयातलाई विस्थापन गर्न कृषिलाई उच्च प्राथमिकता राखेको दाबी गरेको छ । मौसमी र बेमौसमी तरकारी उत्पादनमा कृषकलाई अनुदान दिएर कार्यक्रम सञ्चालन गरिरहेको मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले बताए । तरकारी तथा फलफूल उत्पादनका लागि सिँचाइ सुविधाको अपर्याप्तता, उत्पादित तरकारीको सहज ढुवानीमा समस्या र शीत भण्डारको अभाव लगायतका कारण भारतीय तरकारी तथा फलफूलको आयात बढेको कृषकहरू बताउँछन् । मन्त्रालयले भने एकैपटक भारतीय तरकारी विस्थापन गर्न नसकिने भएकाले स्थानीय कृषकलाई विस्तारै आत्मनिर्भर बनाउने योजना सञ्चालन गरिरहेको बताएको छ । मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न भेरी, कर्णाली र राप्ती करिडोरका कृषकलाई पर्याप्त सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको मन्त्रालयका प्रवक्ता पण्डितको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।