वैशाख ८, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका ७ टुलिंगका स्थानीयले पाँच वर्षपछि उज्यालो देख्न पाएका छन् । हेल्दुम वितरण केन्द्रले वि.सं. २०७० मा टुलिंग गाउँका ३१ घरधूरीलाई अन्धकारमुक्त बनाउने लक्ष्य राखेता पनि सो केन्द्रका कर्मचारीकै लापरवाहीका कारण त्यहाँ स्थानीयले शनिवार साँझबाट मात्र उज्यालो देख्न पाएका छन् ।
टुलिंग गाउँका स्थानीयलाई अन्धकारबाट उज्यालो बनाउनका लागि पहिलो किस्ता रू.९० हजार र दोस्रो किस्ता रू. १लाख ५७ हजार खर्च गरेर त्यहाँका स्थानीयले उज्यालो देख्न पाएका हुन् । हेल्दुम वितरण केन्द्रको ढिलासुस्तीका कारण पाँच वर्षपछि उज्यालो देख्न पाएको स्थानीय नन्द शाहीले बताए । टुलिंग गाउँका ३१ घरधूरीले पाँच वर्षसम्म उही पुरानो परम्पराअनुसार सल्लाको दियालो बालेर दिन चलाएको उनले जानकारी दिए ।
ढिलै भए पनि अन्धकारबाट उज्यालो देख्न पाउँदा खुसी लागेको त्यहाँका स्थानीयवासीले बताएका छन् । गाउँमा पाँच वर्षपछि हेल्दुम वितरण केन्द्रको लाइन पुग्दा बालबालिकालाई रातिको समयमा अध्ययन गर्न सहज भएको वीरबहादुर शाहीले जानकारी दिए । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।