सूचनाप्रविधिको पाठयक्रम निर्माणमा क्यानको पहल
कमलकुमार बस्नेत
फागुन २३, काठमाडौं । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान)ले सूचना प्रविधिको विकासका लागि नयाँ पाठयक्रम बनाउने भएको छ । सोका लागि क्यानले सरकारी र निजीक्षेत्रका विभिन्न व्यक्तिसँग छलफलको तयारी गरेको छ । 'सरकारी अधिकारी तथा सम्बन्धित निजीक्षेत्रका व्यक्तित्वहरूसँग छलफल गरी पाठयक्रम तयार गरिनेछ,' क्यानका महासचिव नारायण न्यौपानेले भने ।
न्यौपानेका अनुसार पाठयक्रम विकासका लागि शिक्षा मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, उच्चस्तरीय सूचना आयोग, चारओटा विश्वविद्यालय, सीटीईभीटीलगायत सूचना प्रविधिविज्ञसँग पनि छलफल गरिनेछ । तर, कार्यक्रमको मिति भने अझैसम्म तय भइसकेको छैन । कार्यक्रममा वर्तमान पाठयक्रम, सूचना प्रविधि विषयमा विद्यार्थी सङ्ख्या अभिवृद्धि, छात्रवृत्तिको व्यवस्था र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरिनेछ । त्यस्तै वर्तमान समयमा सूचना प्रविधिबारे शिक्षा दिने सङ्घसंस्थाहरूलाई नियमन गर्ने कुनै पनि निकाय नभएकाले यसका गठनका लागि पनि पहल गर्ने महासचिव न्यौपानेले बताए ।
क्यानका अनुसार अहिले देशभरमा सूचनाप्रविधिबारे शिक्षा दिने करीब ३८ ओटा कलेज छन् । यो सङ्ख्या सन् २००४ सम्ममा ५८ थियो । तर, पछिल्लो समयमा सूचनाप्रविधिको विकास हुन नसकेकाले पढ्ने विद्यार्थी र पढाउने कलेज घट्दो क्रममा छन् । त्यस्तै, सामान्य कम्प्युटर सिक्नेदेखि लिएर इञ्जिनीयरिङ शिक्षा लिने विद्यार्थीको सङ्ख्या अहिले २ हजारको हाराहारीमा रहेको छ । ६ वर्षअघिसम्म यो सङ्ख्या ५ हजारभन्दा बढी थियो । यसरी एकातिर वार्षिक रूपले विद्यार्थी घट्दै गएको अवस्था छ भने अर्कोतर्फ वार्षिक रूपमा दक्ष जनशक्तिको माग बढ्दै गएको छ । क्यानका अनुसार अहिले सूचनाप्रविधि बजारमा कुल दक्ष जनशक्ति मागको ३० प्रतिशतमात्र उत्पादन भइरहेको छ । आगामी दिनमा मागअनुसारको उत्पादन कसरी गर्ने र कसरी सूचनाप्रविधिको शिक्षा सबैमा पुर्याउने भन्नेबारे पनि कार्यक्रममा छलफल गरी आवश्यक योजना तयार पारिनेछ ।
दुई छिमेकी देश भारत र चीन सूचनाप्रविधिको विकासमा फड्को मारिरहेको अवस्थामा हामीले त्यसको फाइदा लिन नसक्दा आवश्यक विकास गर्न नसकेको न्यौपानेको भनाइ छ । 'चीनले हार्डवेयर र भारतले सफ्टवेयरमा तीव्र विकास गरिरहेको अवस्थामा हामीले ती देशबाट थोरै शिक्षा लिन सके पनि निकै ठूलो प्रगति गर्न सकिने न्यौपानेले बताए । नेपालमा अहिले सामान्य पाठयक्रमदेखि विशिष्ट पाठयक्रम पढाउने सङ्घसंस्थाहरू १ हजार ५ सयभन्दा बढी छन् । न्यौपानेले पाठयक्रम विकासले सरकारले शुरू गरेको 'ज्ञानमा आधारित समाज' निर्माणमा पनि सहयोग गर्नेछ । त्यस्तै, अहिलेको शिक्षा प्रणालीको पहुँच उच्च वर्गमा मात्रै भएकाले चाहना भएर पनि कम आयस्रोत हुनेहरूले पढ्न नपाएको न्यौपानेको भनाइ छ । त्यसकारण नयाँ बन्ने पाठयक्रमले यी सबै क्षेत्रलाई समेट्ने प्रयास गर्ने उनले बताए ।
ग्रामीण सूचना केन्द्र पुनः सञ्चालनको तयारी
फागुन २३, काठमाडौं (अस)। यूएनडीपीको आर्थिक सहयोगमा करीब १० वर्षअघि स्थापना गरिएको ग्राम्रीण सूचना केन्द्र पुनः सञ्चालनमा ल्याउने तयारी भएको छ । यसअघि द्वन्द्वका कारण बन्द भएको सूचना केन्द्र सञ्चालनको तयारीमा रहेको सुनसरी जिल्ला डुम्राहा गाविसका सचिव कृष्णकुमार नेपालले बताए । सुनसरीका तीन गाविस डुम्राहा, मधेशा र सिँगियामा यूएनडीपीको २५ लाख रुपैयाँ सहयोगमा सूचना केन्द्र स्थापना गरिएको थियो । तर, आवश्यक जनशक्ति र आर्थिक अभावका कारण केन्द्र लामो समयदेखि सञ्चालनमा आउन सकेको छैन ।
सशस्त्र द्वन्द्वका कारण बन्द भएको सूचना केन्द्र अहिलेसम्म पनि सञ्चालनमा आउन नसकेको सचिव नेपालको भनाइ छ । यूएनडीपीले त्यसबेला ग्रामीण सूचना केन्द्र स्थापना गरी कम्प्युटर, प्रिण्टर, इण्टरनेट, फोन, फयाक्सको व्यवस्था गरेको थियो । सो समयमा सीडीएमएको इण्टरनेट प्रयोग गरिन्थ्यो । केही वर्ष प्रविधिको सदुपयोग भए पनि पछि उपकरण बिग्रने तथा प्रयोगविहीन भएकाले सूनचा केन्द्र नै उपयोगविहीन अवस्थामा पुगेको थियो ।
तीन गाविसमध्ये अहिले मधेशामा एक जना प्राविधिकको सहयोगमा सूचना केन्द्र सञ्चालन भइरहेको तर अन्य दुई गाविसमा भने उपकरण बिग्रेको र प्राविधिकको अभावका कारण सञ्चालनमा आउन नसकेको बताइएको छ । तर, यस वर्षदेखि भने ग्रामीण सूचना केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको छ । त्यसका लागि डुम्राहा गाविसमा गतवर्ष३० हजार रुपैयाँ र यस वर्ष सञ्चालनका लागि १५ हजार रुपैयाँ सहयोग गरिएको छ । त्यस्तै यस वर्ष बिग्रिएका पाँचओटा कम्प्युटर मर्मत गरिसकिएको र प्रिण्टर मर्मतका लागि खर्च जुटाउने काम भइरहेको सचिव नेपालले जानकारी दिए ।
द्वन्द्वका समयमा माओवादीले सम्पूर्ण उपकरण लुटेर लगेका थिए । तर, द्वन्द्वपछि स्थानीय बासीको आग्रहमा सो सामान फिर्ता गरिएको थियो । सचिव नेपाल दक्ष प्राविधिक तथा सरकारले थोरै आर्थिक सहयोग गरे केन्द्र पुनः सञ्चालनमा ल्याउन सकिने बताउँछन् । 'सरकारले अहिले ३० हजार रुपैयाँ सहयोग गरे मात्र पनि सञ्चालन गर्न सकिन्छ' नेपालले भने ।
मोबाइलमा फेसबूक र ट्विटर
फागुन २३, काठमाडौं (अस)। जानकी टेक्नोलोजी प्रालिले सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमाझ नयाँ योजना ल्याएको छ । कम्पनीका बिजनेश डेभलपमेण्ट निर्देशक अमित अग्रवालका अनुसार यो सेवाले मोबाइलबाट फेसबूक तथा ट्विटरमा एकसाथ स्टाटस अपडेट गर्न सकिन्छ । फेसबूक, ट्विटर धेरै चलाउने र स्टाटस अपटेड गरिरहनेहरूका लागि योजना लाभदायक हुने उनले बताए ।
'यो सेवा विशेषगरी पत्रकारहरूका लागि सहयोगी हुन्छ' उनले भने । यो प्रविधिबाट मोबाइलमा एउटा एसएमएस गरेकै भरमा फेसबूक र ट्विटर दुवैमा एउटै स्टाटस अपटेड गर्न सकिन्छ । अग्रवालका अनुसार अहिलेसम्म कुनै पनि विज्ञापनविना नै ठूलो सङ्ख्यामा यसका ग्राहक बनिसकेका छन् । यो सेवा लिनका लागि ग्राहकले एफबी/टीडब्ल्यू डट स्पारोएसएमएस डट कममा गई एकाउण्ट खोल्नुपर्छ । त्यस्तै, मोबाइल नम्बरमा सम्पर्क गरिसकेपछि यो सेवा प्रयोग गर्न सकिन्छ । त्यसपछि मोबाइलमा एफबी स्पेस र आफूले चाहेको स्टाटस टाइप गरी ४००१ मा पठाउनु पर्छ । फेसबूक र ट्विटरमा अपडेट भइसकेपछि जानकारी तपाईंको मोबाइलमा आउँछ । कम्पनीले यो सेवा प्रयोग गरेवापत प्रतिएसएमएस १ रुपैयाँ चार्ज लाग्ने बताएको छ । यो सेवा नमस्ते र एनसेलका ग्राहकहरूले मात्र प्रयोग गर्न सक्छन् । त्यस्तै यो सेवाअन्तर्गत मोबाइलबाट इमेल पठाउन पनि सकिन्छ । कम्पनीले आगामी दिनमा मोबाइलबाट स्टाटसका साथै फोटो अपटेड र सूचनासमेत मोबाइलबाट हेर्ने मिल्ने योजना ल्याउन लागेको छ ।
युनाइट्स नेपालको युवा सम्मेलन सम्पन्न
फागुन २३, काठमाडौं (अस)। सूचना प्रविधिको क्षेत्रमा काम गर्ने सम्पूर्ण सङ्घसंस्था तथा सम्बन्धित सबैलाई एकीकृत गर्ने उद्देश्यले स्थापना भएको युनाइट्स नेपालले युवा सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रममा सूचनाप्रविधिका क्षेत्रमा रोजगारी तथा पेशाकर्मी र युनियनको आवश्यकता विषयमा कार्यपत्र प्रस्तुत भएका थिए ।
कार्यक्रममा देशभरिका १ सय ५० भन्दा बढी आईटी प्रोफेशनलहरू सहभागी थिए । माइक्रोसफ्ट कर्पोरेशनका नेपाल प्रतिनिधि एलेन बाइलोचन तुलाधरले आईटीमा युवा तथा रोजगारी विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले माइक्रोसफ्टले युवा रोजगारी सृजनामा आवश्यक सहयोग गर्ने बताए ।
युनाइट्सका एशिया प्रशान्त क्षेत्रका महासचिव क्रिष्टोफर इङले देश विकासमा आईटीको ठूलो योगदान हुने बताउँदै यसका लागि सरकार, उद्यमी, व्यवसायी, पेशाकर्मी एकजुट हुनुपर्ने बताए ।
कार्यक्रमले आईटी क्षेत्रमा काम गर्नेहरूलाई सङ्गठित गरी साझा उद्देश्यका लागि अघि बढ्ने, आईटी कलेज, इन्षिटच्युट आदिमा अध्ययनरत युवालाई रोजगारीको सम्भावित उपायको खोजी र क्षमता अभिवृद्धिमा आधारित तालीम तथा कार्यक्रम सञ्चालन गर्नेलगायतका रणनीति तयार पारेको छ ।
Admin 2011-03-08
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।