सूर्यप्रसाद अधिकारी
वैशाख ९, चितवन । पछिल्ला वर्षहरुमा चितवनका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको चाप बढ्दै गएको छ । शिक्षाको गुणस्तरमा बृद्धि, भौतीक पूर्वाधार, व्यवस्थापन भएको क्रमिक सुधारका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दै गएको हो ।
स्थानीय सरकारको तदारुकता, प्रतिस्पर्धी शिक्षा प्रणाली एवं विभिन्न सेवा सुविधा प्राप्त हुने भएकोले यसतर्फ विद्यार्थीको चाप बढ्दै गएको छ । शिक्षाको गुणस्तरसंँगै उत्कृष्ट नतिजा ल्याउनसफल भएकोले निजी विद्यालयका विद्यार्थीहरु पनि सामुदायिक विद्यालयमा आउने गरेको शिक्षकहरु बताउंँछन् । जिल्लाका नारायणी नमुना मावि, आदिकवि भानुभक्त मावि, प्रेमवस्ती उच्च मावि ,जनजागृती मावि, लक्ष्मी उच्च मावि लगायतका विद्यालयहरुमा विद्यार्थीको चाप बढ्दै गएको छ ।
भरतपुर महानगरपालिका ४ स्थित् लक्ष्मी उच्चमाध्यमिक विद्यालयमा गत बर्षको तुलनामा विद्यार्थीको चाप ह्वात्तै बढेको विद्यालयका प्रधानाध्यापक रेशमबाबु ढकाल बताउंँछन् । ‘विद्यालयमा अंग्रेजी माध्यमबाट पढाईसंँगै विद्यार्थीहरु भर्ना हुने क्रम बढेको छ’, उनले भने, ‘अहिले पनि भर्ना प्रक्रिया र प्रवेश परीक्षामा विद्यार्थीको चाप बढ्दो छ ।’ उनका अनुसार गत बर्ष विद्यालयमा कुल विद्यार्थी संख्या ९५० भएपनि अहिले बढेर १ हजार २०० को हाराहारीमा हुने अनुमान छ ।
निजी विद्यालयमा प्रतिस्पर्धा गर्नका लागि सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा र विद्यार्थीहरुको लागि व्यवहारीक कक्षा तथा प्रयोगशालासमेतको सुविधा भएकोले यसतर्फ विद्यार्थीहरु आर्कषित भएको ढकालले जानकारी दिए । यस्तै भरतपुर महानगरपालिका १ स्थित् आदिकवि भानुभक्त माविमा पनि विद्यार्थीको चाप उत्तिकै बढेको विद्यालयका शिक्षक डम्बरबहादुर शाही बताउँछन्। विद्यालयमा अहिले विभिन्न जिल्लाबाट यहांँ पढ्न गर्न आउने गरेको उनले बताए ।
उनका अनुसार यस विद्यालयमा यस बर्ष २५ प्रतिशत भन्दा बढी नयांँ विद्यार्थी भर्ना हुने अनुमान छ । ‘गत वर्ष सबै कक्षामा गरेर कुल १ हजार ४०० विद्यार्थी थिए, अहिले १हजार ६५० भर्ना भइसके’, उनले भने । जिल्लाका अधिकांश विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको बताउंँछन, शिक्षा विकास तथा समन्वय इकाइ चितवनका इकाई प्रमुख भूमिलाल सुबेदी । उनका अनुसार स्थानीय तह, अभिभावक तथा विद्यालय व्यस्थापन समितको सक्रियताका कारण सामुदायिक विद्यालयमा भर्ना हुने संख्यामा बृद्धि हुँदै गएको हो ।
सरकारी अनुगमन, नीति एवं सेवा सुविधामा सुधार गरिएकोले पनि सामुदायिक विद्यालयमा आर्कषण बढेको उनले बताए । कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा कुल ३७७ ओटा सामुदायिक विद्यालय छन् । ती विद्यालयमा १ लाख ८० हजार हाराहरीमा विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।