जलबीरे झरनामा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रममा वृद्धि

Share News

वैशाख १०, मुग्लिन(चितवन) । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित् जलबीरेको लामो झरना हेर्न आन्तरिक तथा बाह्यि पर्यटक आउने क्रममा वृद्धि भएको छ । गर्मी याम शुरु भएसँगै झरनामा पर्यटकको आवागमन बढेकोे हो ।

झरनामा दैनिक १०० जनाको हाराहारीमा पर्यटक आउने गरेको जलबीरे लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले जानकारी दिए । शनिवार र अन्य बिदाका समयमा पर्यटकको अत्याधिक चाप हुने उनको भनाइ थियो ।

नयाँ वर्षका दिन वैशाख १ गते मात्र ५४३ पर्यटक झरनामा पुगेको टिकट काउण्टरको अभिलेख छ । अन्य बिदाका दिन भने १०० भन्दा बढी पर्यटक आउने गर्छन् । झरनामा ‘क्यानोनिङ’, ‘क्लाइम्बिङ’, ‘स्विमिङ’, ‘स्लाइडिङ’, ‘जम्पिङ’ र ‘हाइकिङ’ गर्न काठमाडौँ तथा विदेशबाटसमेत पर्यटक आउने गरेको अध्यक्ष गुरुङले बताए ।

अहिले क्यानोनिङ एशोसिएशनमा आवद्ध विभिन्न सात र्‍याफ्टिङ संस्था लामो झरना पर्यटन विकास समितसँग आवद्ध छन् । ती संस्थामार्फत् ‘क्यानोनिङ’, ‘क्लाइम्बिङ’, ‘स्विमिङ’, ‘स्लाइडिङ’, ‘जम्पिङ’ र ‘हाइकिङ’का लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । चर्को गर्मी,कोलाहल, तनाव र थकान मेट्न यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्छ । पहिलो पटक लामो झरना पुगेका बाराका सागर पुरीले लामो झरनाको प्राकृतिक सौन्दर्यले आफूलाई लोभ्याएको बताए ।

यहाँ प्रवेश गर्न स्वदेशी पर्यटकलाई रू. ५० र विदेशीका लागि रू. १०० शुल्क लिने गरिएको छ भने क्यानोनिङका लागि स्वदेशीलाई रु १०० र विदेशीलाई प्रतिव्यक्ति रू. ५०० लिने गरिएको छ । यहाँ वि.सं. २०६९ देखि पर्यटन विकास शुरु भएको हो । चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्य स्थलमध्ये लामो झरना पनि उत्कृष्ट गन्तव्यभित्र पर्छ । ६० मिटरभन्दा लामो झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ ।

सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकको मन लोभ्याइदिन्छ । झरनामा नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत मुग्लिनबाट सात किलोमिटर नारायणगढतर्फ जलबीरेबाट आधा घण्टा हिँडेर वा सबारीसाधनबाटै पनि पुग्न सकिन्छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।