१० प्रतिशत बढ्यो ट्वीटरको शेयरमूल्य

Share News
वाशिङ्टन डीसी (अमेरिका) । यस वर्षको पहिलो त्रैमासमा आम्दानी बढेको नतीजा सार्वजनिक भएसँगै सामाजिक सञ्जाल ट्वीटरको शेयर मंगलवार बिहानको कारोबारमा १० प्रतिशत बढेको छ । यससँगै ट्वीटरको बजार पूँजीकरणमा २ अर्ब ७० करोड डलर थपिएको छ । उसको समग्र बजार पूँजीकरण २९ अर्ब डलर पुगेको छ । मंगलवार ट्वीटरले अनुमान गरेभन्दा बढी आम्दानी भएको तथ्यांक सार्वजनिक गरेको हो । वर्षको पहिलो त्रैमासमा कम्पनीको आम्दानी ७८ करोड ७० लाख डलर पुगेको थियो । यसअघि विश्लेषकहरूले ट्वीटरको नाफा ७७ करोड ६१ लाख डलर पुग्ने अनुमान गरेका थिए । कम्पनीले मासिक प्रयोगकर्ता पनि अनुमानभन्दा बढेको बताएको छ । कम्पनीले सार्वजनिक गरेको तथ्यांकमा सक्रिय मासिक प्रयोगकर्ता ३३ करोड पुगेका छन् । यो संख्या ३१ करोड ८० लाख पुग्ने अनुमान थियो । यसअघि कमजोर आम्दानीको अनुमान गरेसँगै ट्वीटरको शेयरमूल्य घटेको थियो । तर, कम्पनीको शेयरमूल्य अझै पनि गत १२ महीनाको तुलनामा १० प्रतिशत बढी छ । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।