ब्रसेल्स (बेल्जियम) । पूर्व अमेरिकी कूटनीतिज्ञले यूरोपेली संघ (ईयू) सँगको व्यापारयुद्ध अमेरिकाको गल्ती हुने चेतावनी दिएका छन् । ईयूका लागि पूर्व अमेरिकी राजदूत एन्थोनी गार्डनरले यूरोपेली सामग्रीमा थप कर लगाउनु अमेरिकाको गल्ती हुने चेतावनी दिएका हुन् ।
विज्ञहरूले अमेरिकाले चीनपछि यूरोपका सामग्रीमाथि कर बढाउने अनुमान गरेका छन् । अहिले अमेरिका र चीन नयाँ व्यापार सम्झौताको अन्तिम तयारीमा छन् ।
सहयोगी यूरोपेली मुलुकसँग हुवावेईको ५जीको भूमिकाजस्ता केही विषयमा विवाद देखिएसँगै अमेरिकाले यूरोपेली सामग्रीमाथि आयातकर बढाउन सक्ने आशंका गरिएको हो । सिंगापुरमा भएको एक सम्मेलनमा गार्डनरले चीनको विषयमा यूरोप र अमेरिकाको ९० प्रतिशत चासो मिल्ने भएकाले अमेरिका यूरोपेली मुलुकसँग मिलेर जानुपर्ने बताएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ दूरसञ्चार उपकरण निर्माता हुवावेईको ५जी उत्पादनमा प्रतिबन्धका लागि आफ्ना सहयोगी मुलुकलाई दबाब दिँदै आएका छन् । तर, जर्मनीलगायत केही मुलुकले भने आफ्नो ५जीको राष्ट्रिय योजनामा हुवावेईको उपकरण प्रयोग नगर्ने कुरा उल्लेख गरेका छैनन् । गार्डनरले ट्रम्पको प्रशासनले यूरोपलाई शत्रुको नजरले हेर्नु दुःखलाग्दो पक्ष रहेको बताए । चीनको गलत व्यापारिक अभ्यासबाट पार पाउन अमेरिकाले यूरोपसँगको सहकार्य बढाउनुपर्ने उनको भनाइ छ । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।