सार्वजनिक यातायात प्रभावकारी बनाउन कार्यदल गठन

Share News

वैशाख ११, हेटौंडा । प्रदेश नं. ३ सरकारले प्रदेशको यातायात कार्यालय व्यवस्थित बनाउने सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । मुख्यमन्त्रीस्तरीय निर्णयअनुसार श्रीचन्द्र शर्माको संयोजकत्वमा गठित १३ सदस्यीय समितिले कार्यालयलाई व्यवस्थित, मर्यादित, एवं उपभोक्तालाई दिने सेवा सुविधा प्रभावकारी बनाउन प्रतिबेदन दिने छ ।

प्रदेशका जनताले प्राप्त गर्ने सेवा सुविधाको अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदल गठन गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ । कार्यदललाई प्रदेश यातायात व्यवस्था ऐन २०७५ कार्यान्वयनको सम्बन्धमा नियमावलीमा समेट्नु पर्ने बिषयमा सुझाव दिने, प्रदेश यातायात सेवालाई व्यवस्थित, मर्यादित बनाउन र उपभोक्तालाई दिने सुविधा प्रभावकारी बनाउन प्रदेश सकारले गर्नुपर्ने कार्यको सूची तयार गर्ने कार्यादेश छ । कार्यदललाई १ महीना १५ दिनको समयसीमा तोकिएको छ ।

कार्यदलको सदस्यमा नेपाल ट्रक तथा पारबहन व्यवसायी महासंघका अध्यक्ष माधब अधिकारी, ट्रेड युनियनका तर्फबाट अर्जुन अर्याल, सोम तामाङ, धर्म भण्डारी, ट्रक यातायात व्यवसायी महासंघका योगेन्द्रनाथ कर्माचार्य, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठ, नेपाल लोकतान्त्रिक यातायात व्यबसायी संगठनका डेकनाथ गौतम, तराई यातायात व्यवसायी संघका ओम कार्की, नारायणी यातायात कम्पनी प्रा.लि.का अध्यक्ष गोकर्ण पराजुली रहेका छन् ।

त्यस्तै अधिवक्ता मुकुन्द अधिकारीलाई पनि सदस्य मनोनयन गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका अधिकृतलाई सदस्य सचिव तोकिएको छ । प्रदेश नं. ३ मा सबैभन्दा धेरै यातायात व्यवसायी रहेको भए पनि सार्बजनिक यातायातको सुधार हुन नसकेको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।