वैशाख ११, हेटौंडा । मकवानपुर जिल्लामा खुलारुपमा विक्री हुने अप्रशोधित दूध विक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्नका लागि सो प्रतिबन्ध लगाएको हो ।
जिल्ला प्रशासन कार्यालयद्वारा दूध वितरण गर्ने सरोकारवालासँग बसेको बैठकले यही शुक्रवार १३ गते देखि खुला विक्री हुने दूधमा रोक लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको टोलीले दिएको प्रतिवेदनको आधारमा सो निर्देशिका कार्यान्वयन गर्न लागेको हो । निर्देशिका २०७५ मा दूध प्रशोधन गरी उत्पादन मिति, उपभोग मिति, मूल्य र लेवलसहित आवश्यक जानकारीलगायत प्याकेजिङमा उल्लेखित दूधमात्र विक्री वितरण गर्न पाइने व्यवस्था उल्लेख छ । निर्देशिका २०७५ कार्यान्वयनमा आएपछि खुला तथा प्लाष्टिकमा राखी रबरले बाँधेर प्याक गरेको दूध विक्री गर्न नपाइने प्रशासनले जानकारी दिएको छ ।
सरकारले गत असोज ४ गते निर्देशिका पारित गरेको थियो । गत चैत ४ गतेबाट नै लागू हुने भनिएको सो निर्देशिका मकवानपुर जिल्लामा विभिन्न कारणले लागू हुन नसकेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङको भनाइ छ । यस सम्बन्धमा दुग्ध विकास संस्थान, दुग्ध वितरण आयोजनाका प्रमुख गणेश यादवसँग निर्देशिकाबारे बुझ्दा निर्देशिका लागू भएमा किसानले उत्पादन गरेको दूध बाह्रै महीना खरीद गर्न सकिने र किसानलाई फाइदा हुनुका साथै विचौलियाबाट मुक्त हुने बताए ।
किसानले पाउने मूल्य र उपभोक्ताले खरीद गर्ने खुला दूधको मूल्यबीच ४० प्रतिशतभन्दा बढी फरक देखिएको र अन्य व्यक्तिले फाइदा लिएको स्वयं किसानको गुनासो छ । यस जिल्लामा आधा दर्जन डेरी उद्योग सञ्चालनमा छन् । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।