सूचना प्रविधिको युगमा आत्मनिर्भरतामुखी शिक्षाको खाँचो : प्रधानमन्त्री

Share News

वैशाख ११, काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रन सक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताउनुभएको छ । एशियाली विकास बैंक(एडिबी)को ऋण सहयोगमा नवनिर्मित धुलिखेलस्थित् सञ्जीवनी नमूना माध्यमिक विद्यालयको १२ कक्षाकोठा रहेका तीन भवन उद्घाटन कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्रीले विदेशीले माग गर्ने गरी विज्ञ, चिकित्सक, इञ्जिनीयर र शिक्षक तयार पार्नेतर्फ लाग्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ‘डिजिटल नेपाल, शिक्षित नेपाली र विद्वान् बस्ने नेपाल’ बनाइने बताउँदै भन्नुभयो, ‘खनिज, पर्याप्त स्रोत भएको उर्वर हाम्रो मुलुकका जनता अनपढ र गरीबको कल्पना गर्न पनि सक्दैनौं, यस विषयलाई अब केही वर्षमै इतिहास बनाउनेछौं ।’ उहाँले शिक्षकमा गुणस्तर भए विद्यार्थी पनि गुणस्तरीय उत्पादित हुन्छ, सूचना प्रविधिको युगमा आत्मनिर्भरतामुखी शिक्षाको खाँचो आवश्यकता भइसक्यो ।’ प्रधानमन्त्री ओलीले निजी विद्यालयले गुणस्तरका नाममा चर्को शुल्क मात्रै लिएको बताउनुभयो । ‘चर्को शुल्क भएपछि शिक्षा राम्रो भन्ने आम मान्यता गलत छ’, उहाँले भन्नुभयो, ‘अव सामुदायिक शिक्षामा परिवर्तन जरुरी छ, यसका लागि संघीय सरकारले यथाशक्य छिटो ध्यान दिनेछ ।’ प्रधानमन्त्री ओलीले पुनःनिर्माणको काम तीव्रतापूर्वक अघि बढेकाले आउँदो एक वर्षभित्र पुरातात्विक महत्वका संरचनाबाहेक लगभग पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई शैक्षिक विद्वानहरुले सामुदायिक विद्यालयको शिक्षा अंग्रेजीकरण गर्न सुझाव दिइरहेकाले यसतर्फ सोचिएको बताए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त ७ हजार ९२३ विद्यालयमध्ये तीन हजार ५८३ ओटाको पुनःनिर्माण सकिएको जानकारी दिँदै पुनःनिर्माण भएका राम्रा र बलिया विद्यालयमा बालबालिका खुशीसाथ अध्ययन गरेको पाइएकामा खुशी व्यक्त गरे ।

एडिबीका देशीय निर्देशक मुख्तार खामुद खानोबले निर्धारित् समयमै गुणस्तरीय विद्यालय भवन निर्माण भएकामा खुशी व्यक्त गरे ।नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जूले सीमित सिटमा अध्ययन अध्यापन गराउनुपर्ने सञ्जीवनी माविको जस्तै शिक्षा प्रदान गर्न अन्य विद्यालयलाई आग्रह गरे ।

सोही अवसरमा सम्झौतानुसार एडिबीको ऋण तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको खोपासी– ढुङखर्क–च्याम्राङबेंसी–मिल्चे–बोराङ १५ दशमलव ५५ किमि सडक तथा तेलकोट–नगरकोट–भट्टेडाँडा ७ दशमलव ७७ किमि सडकको प्रदेश नं. ३ स्थित् पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिएको थियो । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।