मदन गिरी
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित भीमदत्त पन्त स्मृति उद्यान (महेन्द्रनगर पार्क)मा ठेकेदारले अवैध शुल्क असुलेको पाइएको छ । पार्क सञ्चालक पक्षले नगरपालिकासँग भएको सहमतिविपरीत मनोमानी रूपमा शुल्क उठाएको पाइएको हो ।
पार्क सञ्चालकले प्रतिव्यक्ति प्रवेश शुल्क १० रुपयाँ असुल्ने गरेको छ । त्यस्तै सवारी पार्किङ शुल्कसमेत लिन थालेको छ । पार्किङ शुल्कबापत साइकलको ५ र मोटरसाइकलको १० रुपैयाँ लिने गरेको पार्क अवलोकनकर्ताको गुनासो छ । यसरी हेर्दा ठेकेदारले प्रतिव्यक्ति १० देखि १५ रुपैयाँसम्म अतिरिक्त शुल्क असुलिरहेको देखिन्छ । यसअघि प्रवेश शुल्कबापत ५ रुपैयाँ तिर्नुपर्थ्यो ।
पार्क अवलोकनका लागि आएका भीमदत्त नगरपालिका स्थानीय किशोरप्रसाद जोशीले प्रवेश र पार्किङका लागि छुट्टाछुट्टै शुल्क तिर्नुपरेको बताए । सञ्चालकले मनोमानी तरीकाले शुल्क लिए पनि पार्क सरसफाइ तथा मनोरञ्जनको साधन नभएको गुनासो उनले गरे । सञ्चालकले पार्क व्यवस्थित नगरी चर्को शुल्क लिएर ठगी रहेको स्थानीयको आरोप छ ।
भीमदत्त नगरपालिका–१८ का रवीन्द्र केसीसँग नगरपालिकाले २०७० सालमा १० वर्षका लागि पार्क सञ्चालनको सम्झौता गरेको सूचना अधिकारी हरिसिंह धामीले बताए । उनका अनुसार उद्यान प्रवेश शुल्कबापत प्रतिव्यक्ति ५ रुपैयाँ लिने सम्झौता गरिएको छ । ‘ठेकेदारले नगरपालिकासँगको सहमतिअनुसार मात्र शुक्ल लिन पाउँछ,’ उनले भने, ‘शुल्क असुलीमा मनोमानी गरे सम्झौता खारेज हुन सक्छ ।’
ठेकेदारद्वारा पुनः ठेक्का
ठेकेदार केसीले पार्क सञ्चालनको जिम्मेवारी तेस्रो पक्षलाई दिएको पाइएको छ । उनले पार्क सञ्चालनका लागि भीनपा–५ वनगाउँका नरेश क्षेत्रीसँग सम्झौता गरेका छन् । पार्क सञ्चालनका लागि ठेकेदार केसीसँग आफूले सम्झौता गरेको क्षेत्रीले स्वीकारेका छन् । ठेकेदार केसीसँगको सहमतिअनुुसार आफूहरूले पार्कको प्रवेश शुल्क लिइएको उनको भनाइ छ ।
ठेकेदार केसीले भने आफू धेरै व्यस्त हुनुपरेकाले तेस्रो पक्षलाई पार्क सञ्चालनको जिम्मेवारी दिइएको बताएका छन् । पार्कको पार्किङ र प्रवेश शुल्क समयाकूल भएको उनको जिकीर छ । यस्तै नगरपालिकाले सहमतिअनुसार पार्कमा भौतिक संरचना र सुरक्षाको व्यवस्थासमेत नगरेको गुनासो उनले गरे ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।