खानतलासी गर्दा पहिले मरेका गैंडा पनि फेला परे, मृतमध्ये १९ को कंकाल मात्रै

Share News

वैशाख १२, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मरेका गैंडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन् । चालू आर्थिक वर्षको साउन यता ४१ ओटा गैंडा प्राकृतिक कारणले मरेका छन् । ती मध्ये १९ ओटाको कुहिएका कारण लिंग पहिचान हुनसमेत सकेको छैन ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार लिंग पहिचानसमेत हुन नसकेका कतिपय गैंडाको हाडखोर मात्र भेटिएका छन् । तीमध्ये कतिपयको हाडखोरमा लेउ लागेको अवस्थामा भेटिएका थिए । घिमिरेको भनाइमा लिंगसमेत पहिचान गर्न नसकिएका अधिकांश गैंडा विगतका वर्षहरुमा मरेका गैंडा हुन् । उनले भने, ‘एक वर्षमा २२/२५ को हाराहारी गैंडा प्राकृतिक कारणले मरेको पाइएको छ ।’ यस वर्ष मृत संख्यामा वृद्धि देखिएको भए पनि पहिले मरेका गैंडाका कारण संख्या बढि भएको उनले बताए । घिमिरेका अनुसार निकुञ्जले चालू आर्थिक वर्षमा पटकपटक पूरै निकुञ्जको खानतलासी (स्विप अपरेसन) गरेका कारण पहिले मरेका धेरै गैंडा फेला परेका हुन् । विगतका वर्षहरुमा भन्दा बढी गैंडा प्राकृतिक कारणले नमर्ने उनको भनाइ छ । प्राकृतिक कारणले मरेको अवस्थामा भेटिएका अधिकांश गैंडा अमलटारी र कसरा क्षेत्रका रहेका छन् । निकुञ्जको तथ्यांकअनुसार हालसम्म मृत भेटिएका गैंडामध्ये २० ओटा अमलटारी र १४ ओटा कसरा क्षेत्रका रहेका छन् ।

अन्य गैंडा बगई, सौराहा, राष्ट्रिय वन क्षेत्र, ध्वर्से खोला क्षेत्रमा मृत भेटिएका हुन् । धेरै गैंडा भेटिएका क्षेत्र निकुञ्जको पश्चिमी क्षेत्र पर्दछ । दुई वर्ष अघि राप्ती नदीमा आएको बाढीले धेरै गैंडा बगाएका थिए । ती गैंडा निकुञ्जको पश्चिमी क्षेत्र हुँदै भारतसम्म पुगेका थिए । बाढीको प्रभावका कारण मरेका गैंडासमेत निकुञ्जको खानतलासीका क्रममा भेटिएको अनुमानसमेत गरिएको छ । बाढीले तितरवितर पार्दा अलमलमा परेर पनि गैंडा मरेको बताइएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्का यस वर्ष धेरै गैंडा प्राकृतिक कारणले मरेको नभएर अघिल्ला वर्षहरूमासमेत मरेको भेटिएको बताउँछन् । धेरै गैंडा कंकाल अवस्थामा भेटिएको भन्दै उनले विगतका वर्षहरुमा मरेका गैंडाहरुसमेत अहिले भेटिएको बताए । प्राकृतिक कारणले मरेका गैंडाहरु निकुञ्जको अपरेसनका क्रममा क्रमशः भेटिँदै गएको खड्काको भनाइ छ । यद्यपि गैंडाको मृत्युका कारण पहिचान गर्न निकुञ्ज विभागका उपमहानिर्देशकको संयोजकत्वमा प्राविधिकहरुको टोली गठन भई काम भइरहेको पनि उनले बताए ।

एकै वर्ष धेरै गैंडा प्राकृतिक कारणले मरेको भन्ने हल्ला चलेको भए पनि तथ्यांक हेर्दा विगत वर्षहरुमा मरेको र पहिचान हुन नसकेका गैंडा धेरै भेटिएका खड्काले बताए । यस वर्ष निकुञ्जको पूरै क्षेत्र समेट्ने गरी अपरेसन गरिएको उनको भनाइ छ । सशस्त्र द्वन्द्वको समयमा वि.सं. २०५८ मा एकै वर्षमा ३७ ओटा गैंडा शिकारीले मारेका थिए । योसँगै संरक्षणका लागि सरकार र दातृ निकायले चासो दिएपछि दुई वर्ष यता शिकारीले गैंडा मार्न सकेका छैनन् ।

निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले–भाले जुधेर, ढिस्कोबाट लडेर, गोहीले हानेर, बाघले खाएर, बच्चा पाउन नसकेर, दलदलमा फसेर, बिरामी भएर र बूढो भएर कालगतिबाट मर्ने गरेका छन् । गैंडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ ओटा गैंडा मरेका थिए । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैंडा छन् । यसै आर्थिक वर्षमा पुनः गैंडाको गणना गर्ने भनिए पनि बजेट अभावका कारण आउँदो आर्थिक वर्ष गणना गरिने भएको छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।