सिन्धुलीका क्षतिग्रस्त विद्यालय : १६० ओटाको पुनर्निर्माण शुरू नै भएन

Share News
एलएन शर्मा सिन्धुली । सिन्धुलीमा २०७२ सालको भूकम्पले क्षतिग्रस्त २ सय ७५ विद्यालयमध्ये १६० विद्यालयको पुनर्निर्माण अझै शुरू हुन सकेको छैन । हालसम्म १ सय १५ विद्यालयको मात्र पुनर्निर्माण भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वय एकाइ (शिक्षा) प्रमुख डम्बरध्वज आङ्देम्बेले बताए । जिल्लाका सबै विद्यालमा गरी १० हजार ७९ कक्षाकोठा निर्माण गर्नुपर्ने अवस्था छ । तर हालसम्म ५५१ ओटा मात्र सम्पन्न भएको आङदेम्बेले जानकारी दिए । ‘अहिलेसम्म ५ हजार १३० ओटा बनिसक्नुपर्ने हो,’ उनले भने, ‘लक्ष्यअनुसारको प्रगति हुन सकेको छैन ।’ जिल्लामा एडीबीले २६, तत्कालीन जिल्ला शिक्षा कार्यालयले १३ र आयोजना एकाइले १ सय ९९ विद्यालयको पुनर्निर्माण गर्ने सहमति भएको एकाइ प्रमुख आङदेम्बेले बताए । अन्य निकायबाट पनि काम समयमा काम सकिने टुंगो नलागेको उनको भनाइ छ । ‘सम्झौता अवधिभित्रै विद्यालयका कक्षाकोठा बनिसक्ने देखिँदैन,’ उनले भने । अहिले निर्माण हुन लागेका विद्यालयमा १२ देखि २२ ओटासम्म कोठा रहेको उनले बताए । सम्बन्धित विद्यालयमा दुईओटा नमूना भवन समेत निर्माण हुने एकाइ प्रमुख आङदेम्बेले बताए । यसमध्ये कमला मावि र कपिलाकोट माविको भवन रहेको उनले जानकारी दिए । नमूना विद्यालयमा छात्रावासको व्यवस्था रहेको उनको भनाइ छ । ‘पुनर्निर्माण गरिएका विद्यालयमा छात्रा तथा अपांगतामैत्री शौचालय समेत हुनेछ,’ उनले भने । यस्तै यी विद्यालयका भवनले ९ रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्ने उनले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।