एलएन शर्मा
वैशाख १३, सिन्धुली । दैनिक ३५ किलोवाट विद्युत उत्पादन भए पनि ३ दशमलव ५ किलोवाट मात्रै खपत भएपछि बाँकी विद्युत खेर गइरहेको छ । सिन्धुलीको हरीहरपुरगढी गाउँपालिकामा अहिले दैनिक हावाबाट २० किलोवाट र सोलार सिस्टमबाट १५ किलोवाट विद्युत उत्पादन हुने गरेको वैकल्पिक ऊर्जा केन्द्रकी फिल्ड कोअर्डिनेटर कल्पना दुलालले बताइन् ।
स्थानीय ८५ घरधुरीले यहाँबाट उत्पादित विद्युत प्रयोग गरिरहेको जानकारी दिँदै उनले दैनिक ३ दशमलव ५ किलोवाट मात्रै खपत भइरहेको बताइन् । उत्पादित विद्युत खपत नभएका कारण अब अन्य क्षेत्रमा पनि विद्युत लाईन विस्तार गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
वैकल्पिक तथा नवीकरणीय ऊर्जा बाट सिन्धुली जिल्लाका ३३ हजार ३८७ घरधुरी लाभान्वित भएका छन् । राष्ट्रिय प्रशारण लाइन नपुगेका स्थानमा वैकल्पिक ऊर्जाबाट स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् ।
सिन्धुलीमा हालसम्म लघु जलविद्युत तथा पिको जलविद्युत परियोजना २८, साना घरेलु सोलार तथा घरेलु सौर्य प्रणली २७ हजार ३३८, सुधारीएको घट्ट विद्युतीकरण परिणेजना ७ ओटा रहेको जिल्ला समन्वय समितिका वावतवरण तथा जलवायु परिवर्तन शाखाका अधिकृत सन्दीप उपाध्यायले जानकारी दिए । लघु जलविद्युत तथा पिको जलविद्युत परियोजनामा ४ हजार ९७, साना घरेलु सोलार तथा घरेलु सौर्य प्रणालीबाट २७ हजार ३३८, सुधारीएको घट्ट विद्युतीकरण परिणेजनाबाट ३५७ र परम्परागत प्रविधि प्रयोग गर्ने १ हजार ५९५ घरधुरी लाभान्वित भइरहेको उपाध्यायले बताए ।
हालसम्म जिल्लामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा १० हजार ५९९ घरेलु बायोग्याँस, १२ हजार ३५६ माटोको सुधारिएको चुलो, ३ हजार ४४७ फलामे सुधारिएको चुलो जडान भएका छन् ।
परम्परागत ऊर्जाको निर्भरतालाई कम गरी स्वच्छ ऊर्जामा पहँुच विस्तार हुनुको साथै जीविकोपार्जनमा सुधार ल्याउन सफल भएको वातावरणीय अधिकृत उपाध्यायको भनाइ छ ।
अब स्थानीय तहमा नविकरणीय ऊर्जाको तथ्यांक संकलन अद्यावधिकको व्यवस्था, होटल व्यवसाय गर्ने व्यवसायिहरुलाई परम्परागत चुलो प्रयोग गर्न निरुत्साहित गर्ने कार्यक्रम सञ्चालन गरिने उपाध्यायले बताए । साविक जिल्ला विकास समितिले प्रतिकिलोवाट रू. ५० हजारका दरले उपभोक्ता समितिलाई उपलब्ध गराउने रकम अब स्थानीय तहले उपलब्ध गराई वैकल्पिक ऊर्जा तथा लघु जलविद्युत तर्फ प्रोत्साहन गर्न स्थानीय तह लाग्नु पर्ने उनको सुझाव छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।