सुनसरी (अस) । आफ्नै भवन नहुँदा स्थानीय तहहरूले भाडामा लिएर सेवा प्रदान गर्नुपर्ने बाध्यता छ । तर, धनकुटा जिल्ला समन्वय समितिले भने सरकारी भवनमा होटल सञ्चालन गर्न दिएर अन्य सरकारी कार्यालय भाडाको घरमा सञ्चालन गरिरहेको छ ।
धनकुटाको साँगुरीगढी गाँउपालिका अन्तर्गत वडा नम्बर ६ स्थित भेडेटारमा रहेको सरकारी स्वामित्वको जग्गालाई जिसस धनकुटाले ठेक्कामा लगाएको हो । ५ वर्षको सम्झौता गरी १८ लाखमा सो भवन लिङ्गाबारी होटललाई ठेक्कामा दिइएको छ । साँगुरीगढी गाउँपालिकाले भने सरकारी स्वामित्वको भवनलाई ठेक्कामा लगाउँदा आपत्ति व्यक्त गरेको छ ।
भेडेटारमा करीब १५ वर्ष अघि तत्कालीन जिल्ला विकास समितिले गेस्ट हाउस बनाएको थियो । त्यहाँ पशु, कृषि तथा स्वास्थ्य कार्यालयको एकाइहरू राखिएका थिए । पछिल्लो समय गेस्ट हाउसलाई जिससले होटल सञ्चालन गर्न भाडामा दिएको हो । गाउँपालिकाको आफ्नै भवन नहुँदा कार्यालय सञ्चालन गर्न समस्या भइरहेकोमा सरकारी भवन भाडामा दिन नहुने स्थानीय बताउँछन् ।
गाउँपालिकाका अध्यक्ष कुमारजंग याक्खाले सरकारी स्वामित्वको संरचनालाई ठेक्का लगाउन नहुने भन्दाभन्दै पनि आफूखुशी ठेक्का लगाएको बताए । सरकारी संरचना सहितको भवनलाई स्थानीय तहले नै प्रयोगमा ल्याउनु पर्ने गाउँपालिकाको माग रहेको उनको भनाइ छ । उनले भने, ‘पटक–पटक हामीले कुरा पनि उठायौं, तर सुनुुवाइ नै भएन ।’
स्थानीय तहलाई सरकारी संरचनाको अभाव हुँदाहुँदै यसरी होटल सञ्चालन गर्न दिनु गलत रहेको होटल एशोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए ।
जिससका सभापति टंकबहादुर भने, ‘५ वर्षको लागि ठेक्का दिएको हो, त्यसका लागि स्थानीय गाउँपालिकासँग लिखित सहमति नभए पनि सरसल्लाह चाहिँ गरेका छौं ।’ सरकारी कार्यालय सरकारी स्वामित्वमै रहोस् भनेर स्थानीय पटक पटक डेलिगेसन पनि गइसकेका छन् । तर, कुनै सुनुवाइ भएको छैन । यता, स्थानीय तह भाडामा बस्नुपर्दा आर्थिक भार भने बढिरहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।