वैशाख १६, विराटनगर । आधारभूत शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्याउने उद्देश्यले संघीय सरकारले भर्ना अभियान सञ्चालन गरिरहेको छ । तर सरकार भर्ना अभियानमा जुट्दै गर्दा विराटनगरका २ हजार ३०० विद्यार्थीले बिचैमा पढाइ छोडेका छन् । विराटनगर महानगरपालिकाको तथ्यांक अनुसार गत वर्ष भर्ना भएकामध्ये १३ प्रतिशत बालबालिकाले बिचमै पढाइ छोडेका हुन् ।
विराटनगर महानगरपालिका शिक्षा शाखाको तथ्यांक अनुसार गतवर्ष नगरभित्रका ५१ ओटा सामुदायिक विद्यालयमा १ देखि कक्षा १० सम्म १७ हजार १०५ जना विद्यार्थी भर्ना भएका मध्ये १४ हजार ८०२ जना विद्यार्थी मात्र परीक्षामा सामेल भएको देखिन्छ । सबैभन्दा बढी प्राथामिक तहमा भर्ना भएका विद्यार्थीले विद्यालय छोडेको देखिएको छ । विद्यालयमा भर्ना भएका विद्यार्थीलाई टिकाउन नसक्नु सबैभन्दा ठूलो चुनौति बनेको महानगरपालिकाका शिक्षा शाखा अधिकृत दुर्गाप्रसाद खतिवडाकोे भनाइ छ ।
यस वर्षको भर्ना अभियानलाई १९ ओटै वडाहरूमा प्रभावकारी बनाउने तयारीमा महानगर रहेको छ । भर्नाका बेला आउने, पुस्तक र छात्रवृति लाने तर कक्षा कोठामा नबस्दा सिकाइ उपलब्धि वृद्धि नभएको उनले बताए । विराटनगरका ५१ ओटा सामुदायिक विद्यालयको प्रधानाध्यापक र सरोकारवाला बोलाएर महानगरपालिकाले भर्ना अभियानलाई प्रभावकारी बनाउन आयोजित अन्तरक्रियामा उक्त तथ्यांक प्रस्तुत गरिएको हो ।
कार्यक्रममा सत्यनारायण माविका प्राचार्य धर्मानन्द खरेलले विद्यालय बाहिर कति बालबालिका छन् त्यसको तथ्यांक महानगरपालिकाले राख्न नसक्दा भर्ना अभियान प्रभावकारी हुन नसकिरहेको बताए । विराटनगरमा सामुदायिक ५५, धार्मिक विद्यालय १९, बालविकास केन्द्र १५०, सामुदायिक सिकाइ केन्द्र ११ र संस्थागत विद्यालय १०५ गरी जम्मा ३४० ओटा विद्यालय छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।