भक्तबहादुर शाही
नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई पानीको अभाव हुन थालेपछि तीर्खा मेटाउन गाउँ छिर्न थालेका छन् । तर, यसरी गाउँ छिर्ने अधिकांश जंगली जनावर मारिने गरेका छन् ।
निकुञ्जमा पानीमा पौडिन रुचाउने जनावरका लागि खोला, ताल, पोखरी र सिमसार क्षेत्रको अभाव छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मी पिउने पानीको पनि समस्या रहेको बताउँछन् । पानी नहुँदा निकुञ्जबाट जनावरहरू बाहिर निस्कने भएकाले मानवीय क्षतिसँगै जनावर पनि मारिने गरेको उनको भनाइ छ ।
निकुञ्जमा बाघ, हात्ती, चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा र भालु लगायतका जनावर छन् । ५५० वर्गकिलोमिटर निकुञ्जमा २६ ओटा कृत्रिम पानीका पोखरी निर्माण भए पनि पर्याप्त नरहेको रेग्मीले बताए । निकुञ्जका अनुसार १० वर्गकिलोमिटर क्षेत्रमा एउटा पानीको स्रोत आवश्यक पर्ने हुँदा निकुञ्जमा कम्तीमा ५५ पोखरी चाहिन्छ, जसमा बाह्रै महीना पानी हुनुपर्छ ।
निकुञ्ज भएर बग्ने सिक्टा सिँचाइको नहरमा वन्यजन्तुले सजिलै पानी पिउन सकेका छैनन् । तिर्खाले छटपटिएका चित्तल पानी पिउन नहर पस्दा डुबेर मर्ने गरेको निकुञ्जले जानकारी दिएको छ । जनावरले पानी पिउन सक्ने संरचना नहरमा बनाउन निकुञ्जले सिंचाइ आयोजनासँग मिलेर अध्ययन गरिरहेको रेग्मी बताउँछन् ।
पानी खोज्न गाउँ पुगेका कैयौं चित्तल मानिसको आक्रमणले घाइते भएको उनको भनाइ छ । राप्ती नदीको केही भाग निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ भने निकुञ्जको सीमामा बबई नदी छ । बबईमा निर्माण भइरहेको भेरी डाइभर्सनबाट निकुञ्जमा पानी ल्याउने सम्भावना छ । निकुञ्जभित्र खहरे खोलाहरू मात्र रहेकाले पानीको अरू स्रोत देखिँदैन ।
निकुञ्जका अनुसार करीब ६० प्रतिशत भूभाग भावर र चुरे क्षेत्रमा पर्दछ । वर्षायाममा बाहेक अन्य सिजनमा पनि पानीको अभाव हुने गरेको निकुञ्जले जानकारी दिएको छ । निकुञ्जका अनुसार भावर क्षेत्रमा पानी सोस्ने र चुरे क्षेत्रमा मुहान भेटिए पनि जनावरको उपस्थिति नहुने भएकाले समस्या छ । निकुञ्जका अनुसार अधिकांश वन्यजन्तुको वासस्थान भावर क्षेत्रमा छ ।
निकुञ्ज क्षेत्रमा ७५ किलोमिटर राजमार्ग रहेको र पानी पिउन राजमार्ग हुँदै राप्ती नदीमा पुग्ने वन्यजन्तुहरू सडक दुर्घटनामा परेर मारिने गरेका छन् । निकुञ्जका अनुसार यही समस्याकै कारण गत वर्ष ७२ ओटा वन्यजन्तुको मृत्यु भएको थियो भने यस वर्ष ३६ जनावरको मृत्यु भएको छ । पानीकै समस्याले वन्यजन्तु मध्यवर्ती क्षेत्रमा पस्ने र स्थानीयको अन्नबालीमा क्षति पु¥याउन थालेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।