वैशाख १९, जाजरकोट । नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै विक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित् डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका ४ त्रिवेणीमा विक्री भएको खुलासा भएको हो ।
त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा पर्दछ । सर्मी डिपो ल्याउने चामल बाटोमै विक्री भएपछि स्थानीयवासीले खाद्यान्न नपाएको बताएका छन् । सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको उक्त चामल ठेक्कामार्फत् डिपोमा वर्षेनी ल्याउने गरिन्छ । बिसी ट्रेडर्स सल्यानका जनक बुढाले ठेक्कामार्फत् ढुवानी गरेको १ हजार क्विन्टल चामल सर्मी खाद्यान्न डिपोमा नलगिएर रुकुमको त्रिवेणीमा विक्री गरेको बताए ।
सर्मी डिपोका कर्मचारी मुकुन्द पनेरुको उपस्थितिमा उक्त परिणामको चामल त्रिवेणीमा विक्री भएको खाद्य संस्थान डोल्पाका प्रमख कमलराज पाण्डेले स्वीकार गरे । यो वर्ष सर्मी डिपोका लागि २ हजार क्विन्टल खाद्यान्न निर्धारण गरिएको छ । बाटोमै वितरण भएको चामल रुकुम आठबिसकोट नगरपालिका त्रिवेणीका स्थानीयवासीले खरीद गरेका छन् । सहुलियतको चामल बाटामै विक्री गर्दा मुड्केचुलाका स्थानीयवासीले अहिलेसम्म चामल नपाएको बताएका छन् । सर्मी डिपोमा एक गेडा चामल नभएको प्रमुख पाण्डेले बताए । कर्मचारी, वडा १, २ र ३ का वडाध्यक्ष र ठेकेदारको मिलेमतोमा चामल विक्री भएको बताइएको छ । तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको खाद्यान्न त्रिवेणीमा विक्री भएको छ भने जुम्ला र सुर्खेतबाट आउने १ हजार क्विन्टल चामल अहिलेसम्म सर्मी डिपोमा आइपुगेको छैन ।
यता मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बाटोमै चामल विक्री गर्ने कर्मचारी र ढुवानी गर्ने ठेकेदारलाई कारवाहीको माग गरेका छन् । उनले भने, ‘मुड्केचुलाका जनता चामल नपाएर हैरान छन्, उता भने बाटोमा विक्री गरेर के गर्न खोजेको हो ?’ वर्षेनी यहाँ उपलब्ध गराउँदै आएको चामल बाटोमै विक्री–वितरण हुने गरेको अध्यक्ष शाहीले बताए ।
अहिले सर्मी डिपोमा खाद्यान्नका लागि दैनिक स्थानीयवासी पुगे पनि चामल नहुँदा रित्तो हात फर्कनु परेको छ । फोनको सहज पहुँच नभएको मुड्केचुला गाउँपालिकामा कामभन्दा पनि ढाँटेर खाने प्रवृत्ति देखिएको स्थानीयवासीको गुनासो छ । खाद्यान्न उत्पादन नहुने यस क्षेत्रमा बाहिरबाट आयात गरिएको अन्नबाट दैनिक जीविका चल्दै आएको छ । सरकारले अनुदानमा यहाँका जनतालाई उपलब्ध गराउँदै आएको चामल बाटोमै विक्री गरेर कागज मिलाउने काम गर्दा मुड्केचुलावासी चामलको अभावमा समस्यामा परेका छन् । त्रिवेणीबाट मर्सीसम्म आउने ढुवानी भाडामा नाफा हुने भएकाले बाटोमै विक्री हुँदै आएको छ । खाद्यान्न अभावका कारण दैनिक समस्यामा पर्ने मुड्केचुलावासी उपलब्ध गराउने चामल बाटोमै विक्री गरेर यहाँका जनताको भावनामा चोट पुगेको सर्मीका रामबहादुर सिंहले बताए । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।