सन्तोष पुर्कुटी
वैशाख १९, ताप्लेजुङ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा पछिल्लो समय घरेलु तथा साना उद्योगमा युवाको आकर्षण बढ्दै गएको छ । अधिकांश युवाहरु वैदेशिक रोजगारीलाई त्यागेर गाउँघरमै घरेलु तथा साना उद्योग सञ्चालन गर्न थालेका छन् ।
घरेलु तथा साना उद्योग विकास समितिले समय समयमा यवाहरुका लागि तालिम तथा प्रविधि उपलब्ध गराएपछि त्यसतर्फ आर्कषण बढेको हो । यहाँका साना उद्योगी तथा कृषक निर्वाहमुखी व्यवसायलाई नाफामुखी र व्यावसायिक बनाउँदै उद्यमतिर लाग्न थालेका छन् ।अल्लो बुनाई, हाते कागज निमार्ण, फलामका सामग्री निमार्ण लगायतका अन्य लघु तथा घरेलु उद्योग पनि दर्ता हुने क्रम बढ्दै गएको छ ।
स्वदेश मै केहि गर्छु भनेर लागेका युवाहरुलाई स्थानीय तहसँगको समन्वयमा घरेलु तथा साना उद्योग विकास समितिले क्षमता अभिवृद्धि तथा शिप विकास तालिम दिइरहेको छ । चालु आर्थिक वर्षमा मात्रै जिल्लाका नौ स्थानीय तह मध्ये सात ओटा स्थानीय तहमा उद्यमशिलता तथा सिपविकास तालिम सञ्चालन भइरहेको घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङका उद्योग अधिकृत सुनिल आर्चायले बताए ।
उद्योग अधिकृत आर्चायका अनुसार फुङलिङ नगरपालिकामा ४५ दिने फर्निचर बनाउने र ड्रेस डिजाइन तालिम भैसकेको छ । आठराई त्रिवेणी गाउँपालिकामा दुई महीने एड्भान्स सिलाई कटाई तालिम, फक्ताङलुङ र पाथिभरा याङ्वरक गाउँपालिकामा मौरीपालन तथा प्रशोधन सम्वन्धि सात दिने तालिम प्रदान गरिएको छ । यसैगरि सोहि गाउँपालिकामा ढाका बुनाई तालिम पनि सञ्चालन गरिएको छ । उता मैवाखोला गाउँपालिकाको फाकुम्वामा अल्लो प्रशोधन तथा एड्भान्स सिलाई कटाई र तिन महीने व्यूटिपार्लर तालिम सञ्चालन भएका छन् ।
सिदिंवामा हातेकागज निमार्ण र होटल व्यवस्थापन तालिम सकिएको छ । अन्य गाउँपालिकामा पनि स्थानीय तहसँगको समन्वयमा तालिम सञ्चालन हुने आर्चायले बताए । तालिम लिएकाहरुले तालिम लिएपछि उद्योग दर्ता गरेर व्यवसाय संचालन गरिरहेका छन् । घरेलुको तथ्याङ्क अनुसार साउन यता मात्र ११७ ओटा दर्ता र ११० ओटा उद्योग नविकरण भएका छन् । शिप विकास तालिमसँगै उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रममार्फत् आधुनिक प्रविधि भित्र्याउनसमेत सहयोग पुगेपछि उत्पादन वृद्धि हुनुका साथै आर्थिक विकासमा पनि टेवा पुगेको छ ।
व्यवसाय गर्नु अगाडि बजारको अवस्था, समयको मागलाई मध्यनजर गर्दै आफ्नो लगानी नफस्ने गरी कसरी सञ्चालन गर्ने भन्ने विषयमा पनि ज्ञान आवश्यक भएको सो कार्यालयले जानकारी दिएको छ । स्थानीय सरकारले समेत अझै सहायता थपे युवाले खाडीमा पसिना वगाउनु पर्ने अवस्थाको अन्त्य हुने स्थानीयको बुझाई छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।