मदन गिरी
महेन्द्रनगर । कञ्चनपुरका स्थानीय तहलाई भू–उपयोगसम्बन्धी नक्सा, डाटा तथा प्रतिवेदन हस्तान्तरण गरिएको छ । गत शनिवार नापी विभागले भूमिको वर्गीकरणको आधारमा भीमदत्त नगरपालिकाबाहेक जिल्लाका आठओटै स्थानीय तहलाई उक्त नक्सा हस्तान्तरण गरेको हो ।
कञ्चनपुरका स्थानीय तहको भू–उपयोग नीतिमा आधारित भएर नक्सांकन गरिएको छ । नापी विभागले भूमिको विशेषताका आधारमा स्थानीय तहको भू–उपयोगसम्बन्धी नक्सांकन गरेको हो । नापी विभागले अहिले स्थानीय तहहरूलाई नक्सा हस्तान्तरणको काम गरिरहेको छ ।
आर्थिक वर्ष २०७०/७१ देखि शुरू गरिएको सर्वेक्षण आर्थिक वर्ष २०७३/७४ मा सकिएको नापी विभागका टोली प्रमुख एवं सर्वेक्षक करणसिंह रावलले बताए । उनका अनुसार नापी भू–उपयोग नीति २०७२ मा आधारित भएर भूमिको वर्गीकरण गर्दै सोहीअनुसारको नक्सा तयार पारिएको हो । विभागले सबै स्थानीय तहमा माटोको किसिम, उर्वराशक्ति, हावापानी लगायत १६ विधामा जमीनको वर्गीकरण गरेको छ ।
भूमिका विशेषताको सूक्ष्म अध्ययन गरी तयार गरिएको नक्साले स्थानीय तहलाई गुरुयोजना बनाई क्षेत्रगत रूपमा विभिन्न जोन निर्माण गर्न सहज हुनेछ । नापी कार्यालय, कञ्चनपुरका निमित्त कार्यालय प्रमुख जनकराज ओझाले विभागले हस्तान्तरण गरेको नक्साको आधारमा स्थानीय तहले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, सार्वजनिक उपयोग, खुलाक्षेत्र र आवश्यकताका आधारमा अन्य क्षेत्र छुट्याएर विकासको मोडल बनाउन सक्ने बताए । नक्सांकनका आधारमा स्थानीय तहमा भू–उपयोग नीति लागू भएमा भूमिको व्यवस्थित विकासका साथै सदुपयोग समेत हुने उनको भनाइ छ ।
पछिल्लो समय बढ्दो जनसंख्या, आन्तरिक बसाइसराइ, अव्यवस्थित शहरीकरणका साथै कृषियोग्य जमीन, वनजंगल र सार्वजनिक जग्गा अतिक्रमणले भूमि र प्राकृतिक स्रोतको संरक्षणमा चुनौती थपिएको छ । तर भू–उपयोग नीतिलाई आधार मान्दै नापी विभागले तयार गरेको नक्साको आधारमा स्थानीय तहले गुरुयोजना बनाई दिगो विकासको अवधारणा लागू गर्न सके यस्ता समस्याको अन्त्य हुने विश्वास गरिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।