बुद्धिमान पुन
सल्यान । सल्यानको सदरमुकाम खलंगा र बाँकेको नेपालगञ्ज सीधा सडक सञ्जालमा जोडिने भएका छन् । जिल्लाको सदरमुकाम खलंगाबाट नेपालगञ्ज जोड्न वर्षौं पहिले सडकको ट्र्याक खोलिएको थियो । तर सडकको स्तरोन्नति र बबई नदीमा पुल नहुँदा यातायात सेवा सञ्चालन कठिन बनेको थियो ।
केन्द्र सरकारको १९ करोड ८३ लाख रुपैयाँबाट घुइयाबारीस्थित बबई नदीमा मोटरेबल पुल निर्माण शुरू भएको छ । यससँगै सल्यानको खलंगा र बाँकेका नेपालगञ्ज, कोहलपुर सीधा सडक सञ्जालमा जोडिने कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । ‘लामो समयको प्रयासपछि बबई नदीमा पुल निर्माणको योजना परेको हो,’ उनले भने ।
बबई नदीमा १ सय ९० मिटर लामो र ११ मिटर चौडा पक्की मोटरेबल पुलको निर्माण थालिएको छ । पुल निर्माण सम्पन्न भएमा जिल्लाको कालीमाटी गाउँपालिका–७ लाई सदरमुकाम खलंगासँग जोड्न मद्दत पुग्ने मन्त्री ज्वालाको भनाइ छ । विगतमा यहाँ पुल निर्माण नहुँदा प्रशासनिक लगायत कामका लागि स्थानीयलाई बाँके, दाङ हुँदै खलंगा आउनुपर्ने बाध्यता थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।