विकास खर्च बढ्न नसकेको स्वीकार्छौं, तर हामी सन्तुष्ट छौं : प्रम ओली

Share News

वैशाख २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्तमान अवस्थामा लोकतन्त्रको सुदृढीकरण तथा मानवअधिकार, प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै सुशासन र विकासको बाटोमा स्पष्ट ढंगले अगाडि बढ्न चाहेको बताउनुभएको छ ।

शनिवार बिहान प्रधानमन्त्री ओलीले शुक्रवार संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आव २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रमबारे स्पष्ट पार्न भन्दै सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीलाई बालुवाटार बोलाउनुभएको थियो । छलफलमा उठेका जिज्ञासाको सम्बोधन गर्नुभएका प्रधानमन्त्री ओलीले विकास खर्च कम भएको कुरालाई स्वीकार गर्दै बाह्य पूँजी र प्रविधि सामेल गराउँदै विकास निर्माणका कामलाई तीव्रता दिने नीति लिइने बताउनुभयो । नीति तथा कार्यक्रम कार्यान्वयनमा पत्रकारले उठाएको संशय सम्बन्धमा प्रधानमन्त्रीले भन्नुभयो, ‘यसमा अस्पष्टता केही छैन, हामीले विकास खर्च बढ्न नसकेको स्वीकार गरेका छौं, तर हामी असन्तुष्ट छैनौं, गति बढाउनु भने जरुरी छ ।’

विकास खर्च कमी भएको स्वीकार गरिएको बताउँदै प्रधानमन्त्रीले यसमा खरीद ऐन, प्रक्रिया तथा प्रशासनिक बाधा हटाउने, समयमै ठेक्का गर्ने, एउटैले धेरै ठेक्का लिने स्थिति तथा असक्षमलाई ठेक्का दिने कुरामा सुधार गरी जसले छिटो गर्नसक्छ उसलाई दिने परिपाटी अपनाउनु आवश्यक भएको बताउनुभयो ।

धेरै बेरुजु देखिएको बारे प्रधानमन्त्रीले ‘सबै बेरुजु भ्रष्टाचार होइन, केही कानूनी, केही प्रक्रियागत अपर्याप्तताले समयमा फछ्र्यौट नभएर पनि भएको हुनसक्छ’ भन्नुभयो ।

‘भ्रष्टाचार, अनियमितता, सुन तस्करी आदि पहिले नदेखिएकालाई पनि हामीले पत्ता लगाएर कानूनी दायरामा ल्याएका हौं,’ उहाँले भन्नुभयो, ‘विभिन्न अनियमितता पत्ता लगाएर कानूनी कारवाहीमा ल्याएकामा आलोचना मात्र गर्नु उचित होइन ।’

प्रधानमन्त्री ओलीले ‘बालुवाटार जग्गा प्रकरण पनि छानबिन गर्छौं, विस्तारै तथ्य सतहमा आउँदैछन्, हामी राष्ट्रको सम्पत्ति हिनामिना भइरहन दिदैनौं, यसलाई पनि कानूनी दायरामा ल्याउँछौं’ भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत नीति तथा कार्यक्रम जनताका आधारभूत आवश्यकता परिपूर्तिमा केन्द्रित रहेको स्पष्ट गर्नुभयो । उहाँले देशमा शान्ति तथा सुव्यवस्था कायम गरी कमजोर तथा अशक्तका अधिकार समेत सुनिश्चित गर्दै उनीहरुको क्षमता अभिवृद्धि गराउन नीति तथा कार्यक्रममा थुप्रै व्यवस्था समेटिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहित गरेर विकास प्रयासमा सहभागी गराउने र सहकारीलाई पनि अघि बढाउने नीति लिएको बताउनुभयो । नीति तथा कार्यक्रममा कृषि, उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा राष्ट्रिय गौरवका आयोजना आदिलाई कसरी अघि बढाउने भन्नेबारे नीति तथा कार्यक्रममा स्पष्टरुपमा आएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले शान्ति सुव्यवस्था कायम गर्ने, भ्रष्टाचार उन्मूलन तथा अपराध रोकथामलाई उच्च प्राथमिकता दिँदै सुशासनका माध्यमबाट सामाजिक न्याय प्रदान गर्ने कुरालाई नीति तथा कार्यक्रममा जोड दिइएको बताउनुभयो ।

‘उत्साहजनक ढंगले राजस्व अभिवृद्घि भएको वैदेशिक रोजगारबाट आउने विप्रेषण बढेको छ । अनियमितता रोकिएको छ ।’ उहाँले भन्नुभयो, ‘कृषि उत्पादनमा वृद्घि भएको छ र आर्थिक वृद्घिदर ७ प्रतिशत हुनु उत्साहजनक मान्नुपर्छ । आन्तरिक बचत १५ प्रतिशतभन्दा बढी नभएकामा यसपटक २७ प्रतिशत भएको छ ।

‘हाम्रा सबै प्रयासमा सबै ठाउँमा गति दिनुपर्ने अवस्था छ, प्रविधिको प्रयोगबाट पनि तीव्रता दिएर हामी कार्यान्वयन गरिछाड्छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘केही मानिसमा जसरी पनि विरोध गर्नुपर्छ भन्ने मानसिकता छ, आफ्नो काम विरोध गर्ने हो विरोध गर्नुपर्छ भन्ने मान्यता राख्नु सही होइन । सहीलाई सही भन्नुपर्छ ।’ ‘जसो भने पनि विरोध गर्ने परिपाटी, राष्ट्रलाई विकासको बाटोमा अघि बढाउने कुरामा पनि विरोध गर्ने कुरा कसरी स्वीकार गर्न सकिन्छ ?’ प्रधानमन्त्रीले प्रश्न गर्नुभयो ।

‘सरकारले देशको सार्वभौमसत्ताको रक्षा, विकासका चाहना सम्बोधनमा गलत बाटो लिएको छ भने सरकार सच्याउन तयार छ, तर सरकार देश विकासबाहेक अन्य कुरामा जनतालाई अल्मल्याउन चाहँदैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकार प्रभावकारी नीति व्यवहारमा लागू गर्न चाहन्छ । झुट बोल्ने र अल्मल्याउने काममा सरकार लाग्दैन ।’

प्रधानमन्त्रीले भन्नुभयो, ‘केही मानिसले देशमा केही पनि नभएको, रित्तो छ भन्ने गरेका छन्, आलोचना गर्ने ठाउँ नभेटाएर हल्काफुल्का टिप्पणी गर्ने गरेका छन्, हामी त देश विकासका लागि सार्थक बहस चाहन्छौं ।’

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदा ‘मेरो सरकार’ भन्नुभएकामा के यो राष्ट्रपतिको सरकार हो ? भनी पत्रकारले राखेको जिज्ञासामा मेरो देश, मेरो राष्ट्रिय गान भन्नु अरुको चैं होइन भनेको होइन, देशको प्रमुखले भन्नु कुनै अनौठो होइन, भारत तथा अरु देशमा पनि ‘माइ गभर्नमेन्ट’ भन्ने चलन छ । नेपालमा भर्खरमात्र राजतन्त्र गएकाले त्यस्तो झल्को लागेको होला तर भारतमा त राजतन्त्र छैन नि !’ प्रधानमन्त्रीले भन्नुभयो । ‘राष्ट्रपति सबैभन्दा मर्यादित तथा सम्मानित पद भएकाले ‘मेरो सरकार’ भन्ने सामान्य अभ्यासलाई पनि अनौठो मान्ने समय आयो भने हामीले आफैंले ल्याएको प्रणालीलाई नै बुझेनौं,’ प्रधानमन्त्रीले भन्नुभयो ।

युवाहरु विदेशिने स्थिति रहिरहेको सम्बन्धमा गरिएको जिज्ञासामा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बाहिर जान नदिएर मात्र गरीबी निवारण हुने होइन । हामी अवसर त सृर्जना गर्छौं, तर त्यो आकर्षक हुनुपर्‍यो नत्र बाहिर पनि आकर्षक अवसर हेरेर जान सक्छन् । यसका साथै देशमै काम गर्न राष्ट्रिय भावना पनि जाग्रित गराउनु भने आवश्यक छ ।’

अहिले दुई तिहाई नेपाली कृषिमा आवद्घ भए पनि अर्को विकल्प दिएर कृषिमा निर्भरता घटाउनुपर्ने उहाँले बताउनुभयो । ‘हामी आधुनिकीकरण गरेर कृषि उत्पादन पनि बढाउँछौं भने राम्रा गन्तव्यमा श्रम सम्झौता पनि गरिरहेका छौं,’ प्रधानमन्त्रीले भन्नुभयो ।

‘यसवर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत हुनु उच्चतम हो, यसबाट नेपाल उदीयमान राष्ट्रको रुपमा अगाडि आएको छ । यसलाई अघि बढाउँदै खर्च गर्ने क्षमतामा वृद्धि गरेर तथा भ्रष्टाचार नियन्त्रण गरेर यही सरकारको कार्यकालमै दोहोरो अंकको पनि आर्थिक वृद्धिदर हासिल गर्न सक्छौं’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीको गृह जिल्लाका लागि मात्र कार्यक्रम ल्याइएको आरोप सम्बन्धमा प्रधानमन्त्री ओलीले कुनै बेला आफू संवद्ध निकायबाट आफ्नो जानकारीबिना गल्तीवश राष्ट्रिय योजना आयोगमा गएको सूची सम्बन्धमा गल्ती स्वीकारी सकिएको छ, क्षेत्र केन्द्रित राजनीति गरिएको छैन भन्नुभयो । आफू विसं २०५१ मा गृहमन्त्री भएपछि यस्तो राजनीति गरिएको छैन, सम्पूर्ण राष्ट्रकै समृद्धिका लागि काम गर्ने प्रधानमन्त्रीले बताउनुभयो । उहाँले सम्बन्धित निर्वाचन क्षेत्रमा विकासका मुद्दा उठ्नु अस्वभाविक नभएको बताउनुभयो ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व सभामुख सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टृराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याललगायतको उपस्थिति थियो । कार्यक्रममा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधि, सम्पादक तथा सञ्चारकर्मीको उपस्थिति थियो । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।