सुर्खेत (अस) । कर्णाली प्रिमियर लिग (केपीएल) को उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । दोस्रो संस्करणको वाईवाई केपीएल लिगमा शनिवार वीरेन्द्रनगरको कालुन्चोक क्रिकेट मैदानमा भएको फाइनल खेलमा आर्मीले न्यू होराइजन क्लब बुटवललाई पराजित गर्दै दोस्रो पटक विजेता बनेको हो । प्रतियोगिताको अघिल्लो संस्करणको उपाधी समेत आर्मीले नै जितेको थियो । फाइनल खेलमा आर्मीले न्यू होराइजनलाई ५९ रनले पराजित गर्दै उपाधी आफ्नो पक्षमा पारेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको आर्मीले २० ओभरमा ६ विकेट गुमाएर १४६ रनको योगफल तयार पारेको थियो । आर्मीको लागि हरिबहादुर चौहानले सर्वाधिक ५६, राजु रिजालले ३४ तथा भीम सार्कीले अविजित २१ रन बनाए । न्यू होराइजनका बलर विकास श्रेष्ठले २ तथा राहुल प्रजापति, विपिन खत्री र अखिलेश यादवले समान १/१ विकेट लिए ।
१४७ रनको लक्ष्य पछ्याउने क्रममा न्यू होराइजनले १८ दशमलव ३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो । होराइजनलाई रोक्न आर्मीका बलर जीतेन्द्र मुखिया र शाहब आलमले ३/३ विकेट तथा सुशन भारीले २ विकेट लिए । होराइजनको लागि विशाल सुनारले सर्वाधिक २६ तथा निश्चल चौधरीले १९ रन योगदान दिए । फाइनल खेलको प्लेयर अफ द म्याच हरिबहादुर चौहान चुनिए ।
यस उपाधिसँगै आर्मीले ५ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता न्यू होराइजनले २ लाख रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी न्यू होराइजनका कप्तान शक्ति गौचनले ५० हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट ब्याट्सम्यान कर्णाली–११, का रवीन्द्रजंग शाही तथा उत्कृष्ट बलर आर्मीका सुशन भारी घोषित भए । दुवैले जनही २० हजार रुपैयाँ प्राप्त गरे । कर्णाली क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगिता वैशाख १२ देखि शुरू भएको थियो जसमा कुल ८ टोली सहभागी भएका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।