वैशाख २२, धनगढी । सुदूरपश्चिम प्रदेशमा दैनिक काठमाडौं– धनगढीको हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थलमा आइतवारबाट उडान सेवा बन्द गरिएको छ । विमानस्थलको धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र विस्तारको काम गर्नुपर्ने भएकाले एक महीनाका लागि बन्द गरिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बताए । १ हजार ८०० मिटर लामो र ३० मिटर चौडा धावनमार्गमध्ये ८०० मिटर धावनमार्ग पूर्णरुपमा भत्काएर पुनःनिर्माण गर्न लागिएको छ । यस्तै पार्किङ क्षेत्रमा दुई ओटा जहाज एक साथ अड्याउने व्यवस्था रहेकामा एकसाथ चार ओटा जहाज पार्किङ गर्न सकिने गरी पार्किङ क्षेत्रको विस्तार गर्न लागिएको छ । आगामी जेठ महीनाको २१ गते पछि मात्र विमानस्थलमा हवाई सेवा शुचारु हुने बताइएको छ । लामो धावनमार्गका दृष्टिमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलपछिको दोस्रो ठूलो विमानस्थाल धनगढी विमानस्थल हो । झण्डै रू. १८ करोडको लागतमा विमानस्थलको धावन मार्ग र पार्किङ क्षेत्र निर्माण एवं स्तरोन्नति गर्नका लागि विभिन्न तीन ओटा निर्माण कम्पनीसँग निर्माणको सम्झौता भएको बताइएको छ । धनगढी विमानस्थलबाट हप्तामा तीन दिन नेपाल वायुसेवा निगमको जहाजले काठमाडौं धनगढीसम्मको हवाई सेवा उपलब्ध गराइरहेकामा निजी क्षेत्रको बुद्ध एयर र श्री एयरलायन्सले काठमाडौं धनगढीका लागि दैनिक चार उडान गर्दै आएका थिए । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।