धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति, बजेट तथा कार्यक्रममा राजधानी गोदावरी र विशेष आर्थिक क्षेत्र (सेज) औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गर्ने भएको छ । यसका लागि आवश्यक तयारी भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढीले बताएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३० अर्ब रुपैयाँको बजेट निर्माणका लागि आवश्यक तयारी भइरहेको आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बताए ।
उक्त रकम चालू आर्थिक वर्षको बजेटभन्दारू. ५ अर्ब बढी हो । चालू आर्थिक वर्षको कुल बजेट २५ अर्ब ६ करोड ५६ लाख रहेको छ । मानव विकास सूचकांकको आधारमा बझाङ, बाजुरा, दार्चुला र अछामलाई विशेष प्राथमिकतामा राखेर बजेट निर्माण गरिने मन्त्री बोहराले बताए । उनले भने, ‘बजेटका बारेमा सम्बन्धित सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया भइरहेको छ ।’ आर्थिक वर्ष २०७४/७५ को बाँकी तीन महीनाका लागि विनियोजित बजेट एक अर्ब दुई करोड ५ लाख रुपैयाँ थियो ।
आर्थिक वर्ष २०७४/७५ को बाँकी तीन महीना र चालू आवमा विनियोजन गरिएको रकम पहुँचका आधारमा बाँडिएको भन्ने व्यापक गुनासो बढिरहेको बेला मन्त्री बोहराले आगामी आवको बजेट निश्चित मापदण्डका आधारमा कार्यक्रम समेटेर ल्याइने बताए । उनले कैलाली र कञ्चनपुरमा निर्माण गर्ने भनी घोषणा गरिएका विशेष औद्योगिक क्षेत्र (सेज) निर्माणका लागि बजेट छुट्याइने जानकारी पनि दिए । उनका अनुसार आगामी आवको बजेटमा प्रदेशको राजधानीका लागि पनि बजेट छुट्याइने छ ।
मन्त्रालयका अनुसार जेठ १५ गतेभित्र प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने र असार १ गते बजेट ल्याउने तयारी भइरहेको छ । चालू आवका लागि विनियोजित बजेटको खर्च प्रगति भने वैशाखको तेस्रो सातासम्ममा १५ प्रतिशत मात्रै देखिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।