वैशाख २३, भोजपुर । भोजपुर नगरपालिका १२ टक्सारका बलराम राईसँग सात वर्ष अघिसम्म १० दिन लगाएर ढाकरमा नून बोकी हिँडेका स्मृति ताजै छ । सडक विस्तार भएसँगै अहिले राईको घरमै नूनदेखि चाहिने सबै उपभोग्य सामान आउन थालेको छ ।
राईको घर छेउमै बाटो विस्तार पनि भइरहेको छ । त्यहाँ सडक बनाउने उपकरणहरु चलिरहेका छन् । यी गतिविधि हेरिरहँदा राईलाई खुशी लाग्छ । ‘चतराबाट नौ दिन लगाएर ढाकरमा नून बोकेर ल्याइन्थ्यो, अहिले घर छेउमा गाडी गुड्दा अचम्म लाग्छ’, राईले विगतमा ढाकर टेकुवा बोकेर हिँडेको स्मरण गर्दै भने, ‘घरसँगै जोडिएको सडक चौंडा भइरहेको छ, हेर्दा आनन्द लाग्छ, विगत सम्झियो भने सपनाझैं लाग्छ ।’ ५५ वर्षीय राईले अहिले नून तेल बोक्न जाने समय आफ्नै खेतबारीमा लगाउन थालेका छन् । आफूले उब्जाएको फसल बाहिर पठाउन पनि उनलाई सजिलो भएको छ ।
सोही स्थानका ६६ वर्षीय बुद्धिमान सुन्दास पनि सडक विस्तार भएर बस्ती बस्तीमा ढुवानीका साधन आइपुगेको देखेर अचम्म मान्छन् । उनले भने, ‘नून, तेल र चामलको जोहो गर्न गाउँभरिका साथीहरु सल्लाह गरेर नौ/१० दिन लगाएर धनकुटा तथा सुनसरीको चतरा जान्थ्यौं, अहिले आँगनमा सामग्री खस्छ,यो देख्दा विकासको अनुभूति हुन्छ ।’
‘ज्यान जोखिममा राखेर भारी बोकिन्थ्यो, १० दिनसम्म खानेकुरा ढाकरमा बोकेर जानुपर्थ्यो, दिनरात नभनी यात्रा गर्नु जानुपर्थ्यो’, सुन्दासले भने । प्रायःजसो ग्रामीण सडकहरु हिउँद महिनामा मात्र सहज रुपमा सञ्चालनमा आउने हुँदा स्थानीय बासिन्दालाई सास्ती छ । टेम्केमैयुङ गाउँपालिका ५ का मानबहादुर विष्टले भने,‘अहिले त दूरदराजका सबै ठाउँमा कच्ची नै भए पनि सडक पुगेको छ । यसको स्थायित्वको लागि ध्यान दिए राम्रो हुन्थ्यो ।’ विगतमा खानेवस्तुदेखि सम्पूर्ण कुरा पिठ्यूँको भरमा ल्याउनु पथ्र्यो । अहिलेको यातायात पहुँच छ ।
विश्व बैंकको एसएनआरटिपी कार्यक्रमअन्तरगत् करीब रू. ३० करोडको लागतमा सडक स्तरोन्नति थालिएको छ । यस कार्यक्रमअन्तरगत् भोजपुर–मानेभञ्याँग–घोडेटारको ४८ किलोमिटरमध्ये १२ दशमलव पाँच किलोमिटर सडकको स्तरोनतिको काम शुरु भएको छ । त्यस्तै, भोजपुर दिंला सडक खण्डमध्ये पानीट्यांकीबाट बाघखोरसम्मको १३ दशमलव ३६ किलोमिटर सडकको स्तरोन्नतिको काम अन्तिम चरण पुगेको छ । सडक स्तरोन्नतिको कामले तीव्रता पाएपछि सर्वसाधारण खुशी छन् ।
तिवारी भञ्याँगदेखि सानोदुङमा हुँदै ठुलोदुङमासम्मको ३० किलोमिटर सडक र गुम्वा, दलगाउँदेखि ओख्रेसम्मको ३० किलोमिटर सडकमध्ये १५ किलोमिटर सडकको पनि मर्मत भइरहेको छ । दुबै सडकको १५/१५ किलोमिटर सडकको भने यसअघि नै मर्मत कार्य सम्पन्न भइसकेको छ । सञ्चालित् योजनाको गुणस्तर कायम गरी समयमै सम्पन्न गर्न लगाउन नियमित रुपमा अनुगमन तथा अन्य सहयोग गरिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जानकारी दिएको छ ।
कार्यालय प्रमुख राजनराज रेड्डीले भने, ‘यस कार्यक्रमअन्तरगत् जिल्लाका विभिन्न ठाउँमा सडक स्तरोन्नतिसँगै मर्मत पनि भइरहेको छ । यसको गुणस्तरमा हामीले निकै ध्यान दिएका छौं ।’ गुणस्तर कायम राख्दै सडक स्तरोन्नतिको काम समय सीमाभित्रै सम्पन्न गर्ने निर्माण व्यवसायीहरु बताउँछन् । स्थानीय बासिन्दाले सडक विस्तारका लागि सहजरुपमा जग्गा नदिँदा भने केही समस्या उब्जिएको उनीहरुले बताउने गरेका छन् ।
निर्माण व्यवसायी नारायण राईले भने, ‘योजना निर्धारित् समयमै सम्पन्न गर्ने गरी काम भइरहेको छ, तर कतिपय स्थानका जग्गाधनीले जग्गा नदिँदा केही समस्या छ । यसको पनि समाधान खोजेर काम अघि बढाइएको छ ।’ भोजपुर जिल्लालाई अन्य जिल्लासँग जोड्ने मुख्य सडकको रुपमा रहेको भोजपुर–लेगुवा ६६ किलोमिटर सडकको कालोपत्र गर्ने काम अन्तिम चरणमा छ । जिल्लाका सबै नौ स्थानीय तहमा पक्की सडक बन्न नसके पनि सबैमा कच्ची सडकको पहुँच भने छ ।
टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले भने, ‘जनताको चाहना सडक र विद्युतमा छ । मेरो गाउँपालिकाको नौ ओटै वडामा कच्ची सडक पुगेको छ, अब त्यसलाई आगामी वर्षदेखि स्तरोन्नति गरेर लैजाने तयारीमा छौं, सडक विस्तारको नाममा धेरै ठाउँमा विनाश पनि निम्तिएको छ, त्यसमा हाम्रो स्थानीय तह सजग छ ।’
सडक विस्तारमा स्थानीय सरकारले चासो दिएको अनुभव जिल्ला समन्वय समिति भोजपुरले बताएको छ । कतिपय स्थानीय तहले सडक खन्ने बहानामा राज्यकोष दुरुपयोग गरेको देखिएकाले त्यसको निराकरणका लागि अनुगमनलाई तीव्रता दिइएको समितिले जानकारी दिएको छ । समिति प्रमुख लक्ष्मण खड्काले भने, ‘विकास भनेको सडकको माध्यमबाट नै आउने हो, तर त्यसलाई व्यवस्थापन गर्न सकिएन भने समस्या पनि उत्पन्न हुन्छ, यसतर्फ हामी सजग छौं ।’
सदरमुकामबाट बोखिम, शिद्धेश्वर, गुप्तेश्वर हुँदै टेम्केमैयुङ गाउँपालिका हुँदै खोटाङको सिमाना चखेवा भञ्याङसम्मको करीब ४५ किलोमिटर लम्बाइ रहेकामध्ये पहाडी सडक खण्डको पनि स्तरोन्नति भइरहेको छ । यो सडक खण्डको करीब १० किलोमिटर खण्ड कालोपत्र भएको छ भने अन्य स्थानमा कालोपत्र गर्ने तयारी भइरहेको छ । भोजपुर जिल्लामा २०५६ सालदेखि सडक खन्न शुरु भएको स्थानीय जानकार गणेश श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार तत्कालीन र्याप परियोजनाअन्तरगत् सर्वप्रथम भोजपुर–च्याङडाँडा सडक खनिएको थियो । त्यसपछि मात्र लेगुवा–भोजपुर सडकको ट्रयाक खोलिएको हो ।
वि.सं. २०६५ असार २६ गते भोजपुर जिल्लामा नेपाली सेनाको हेलिकप्टरले बोकेर पहिलो पटक टुँडिखेलमा महिन्द्रा जीप ओरालेको थियो । त्यो समयमा जिल्लाका केही केही स्थानमा कच्ची बाटो खनिएको भए पनि भोजपुर र धनकुटाको सिमानामा रहेको अरुण नदीमा पुल नहुँदा गाडी ल्याउन हेलिकप्टरको प्रयोग गर्नुपरेको थियो । करीब सात वर्ष अघिदेखि सो नदीमा पक्की पुल बनेपछि यातायातमा सहजता थपिएको छ ।
पूर्वाधार विकास कार्यालय भोजपुरका अनुसार जिल्लामा करीब १ हजार एक किलोमिटर सडक विस्तार भएको छ,जसमा ९० किलोमिटरको हारहारीकोे सडक पक्की, २५ किलोमिटर सडक ग्रावेल र अन्य सडक कच्ची रहेका छन् । कच्चीेमध्ये कतिपय सडकको अहिले पनि स्तरोन्नति भइरहेको छ । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।