बझाङ (अस) । जिल्लाका स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कामकाज रोकिएका छन् । आर्थिक वर्ष सकिन दुई महीना मात्रै बाँकी रहँदा स्थानीय तहमा भएका योजनाहरूको भुक्तानी नहुँदा उपभोक्ता समस्यामा परेका हुन् ।
बझाङ जिल्लाका १२ ओटा स्थानीयमध्ये १० गाउँपालिका र दुई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदपूर्ति नहुँदा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । नगरपालिका तथा गाउँपालिकामा प्रशासकीय अधिकृत नहुँदा र निमित प्रशासकीय अधिकृतलाई आर्थिक जिम्मेवारीनदिँदा कामकाज रोकिएको गाउँपालिकाका अध्यक्षहरूको गुनासो छ।
स्थानीय सरकार सञ्चालन ऐन संशोधनमा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी सरुवा–बढुवा गरेर अन्य स्थानमा पठाइएकाले बझाङका अधिकांश स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका, खप्तड छान्ना गाउँपालिका, बित्थडचिर गाउँपालिका, साइपाल गाउँपालिका, जयपृथ्वी नगरपालिका, केदारस्युँ गाउँपालिकामा हालनायब सुब्बाले प्रमुख प्रशासकीय अधिकृतको काम गर्दै आएको पाइएको छ ।
साइपाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक नेपाली सरुवा भएर गएपछि निमित्त प्रमुख राधाकृष्ण जोशीलाई जिम्मेवारी दिए पनि आर्थिक कारोबारको जिम्मा नदिँदा भुक्तानी लिन समेत समस्या भएको गाउँपालिकाका स्थानीय गणेश बोहराले बताए । उनले भने, ‘गाउँपालिकाबाट सदरमुकाम पुग्न तीन दिन लाग्छ, तर यहाँ कर्मचारी पनि नभएकाले प्रदेशबाट आएको रकम सम्झौतासम्म हुन सकेको छैन ।’
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।