६ लेनको सडक बन्दा भत्किने भयो पुरानो रंगेली बजार, नगरपालिकाले थाल्यो रेड मारकिंग गर्न

Share News

वैशाख २७, मोरङ । मोरङको पुरानो सदरमुकाम रंगेली बजारमा मुख्य हुलाकी राजमार्ग सडक विस्तार हुने भएको छ । हुलाकी राजमार्ग निर्देशनालयले सडक विस्तारका लागि नगरपालिकालाई सडकको सिमा भित्र रहेका संरचनाहरु हटाउन पत्राचार गरेसँगै साँघुरो अवस्थामा रहेको रंगेली बजार भत्किने भएको हो ।

डिभिजन सडक कार्यालय विराटनगरले गत वर्ष रंगेली नगरपालिकालाई सडक ऐन बमोजिम सडक सिमा निर्धारण गरी विराटनगर–रंगेली – उर्लावारी क्षेत्रलाई साहयक मार्गको रुपमा १५/१५ मिटर र ६/६ मिटर सेड व्याक निर्धारण सडक क्षेत्र तोकीएकाले संरचना हटाउन निर्देशन गरेको छ । लामो समय देखि हुलाकी राजमार्ग निमार्णको आशा गरेर बसेका स्थानीयहरु रंगेली बजार क्षेत्रमा शहरी मापदण्ड अनुसार छ लेनको सडक बन्ने भएपछि हर्षित् छन् ।

हुलाकी राजमार्ग निर्देशनालयको पत्र पाएसँगै रंगेली नगरपालिकाले हुलाकी सडक आसपास क्षेत्रका सरोकारवाला, स्थानिय, बुद्धिजीवि, राजनैतिक दल, जनप्रतिनिधि र पत्रकार सहितको सर्वदलीय बैठक राखेर शहरी सडक मापदण्ड बमोजिम सडक खालि गराउने निर्णय गराएको छ । सो कार्यका लागि टेण्डर आह्वानसमेत गरिसकिएको रंगेली नगरपालिकाका मेयर दिलिप वगडीयाले जानकारी दिए ।

रंगेली नगरपालीकाले हाल १०० फिट सडक खाली गराउनका लागि सडक क्षेत्र भित्र रहेका संरचना हटाउन शुरु गरेको छ । नगरपालिकाले सडक केन्द्र देखि ५० /५० फिट अर्थात् १५/१५ मिटर क्षेत्रमा रेड मारकिंग गरेर असार मसान्त भित्रमा सडक क्षेत्र खालि गर्न अनुरोधसहित सडक आसपासमा बसोबास गरेका स्थानीयलाई पत्र थमाएको छ ।

झण्डै शताब्दी पुरानो इतिहास बोकेको रंगेलीको पुर्वाधार विकासको अवस्था निकै कमजोर छ । सरकारले छ लेनको सडक विस्तार गर्ने भएसंगै रंगेली बजारले मुहार फेर्ने स्थानीको बुझाई छ । हुलाकी राजमार्ग निर्देशनालयले पहिलो चरणमा करीब ४ दशमलव ९ किलोमिटर रंगेलीको मुख्य बजारलाई सहरी मापदण्ड अनुसार विस्तार गर्ने छ । जसअनुसार रंगेली कोल्ड स्टोर देखि मधुवनी पूर्व सम्मको क्षेत्रमा छ लेनको सडक, ढल, फुुटपाथसहितको संरचना बन्ने छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।