वैशाख २९, विराटनगर । प्रदेश–१ को प्रदेशसभा सचिवालयले प्रदेशसभाका पदाधिकारीका लागि १० करोड रुपैयाँ खर्चिएर १२ ओटा सुविधा सम्पन्न गाडी किन्ने प्रक्रिया अघि बढाएको छ । १२ ओटा गाडी खरीदका लागि सचिवालयले बुधवार बोलपत्र समेत आह्वान गरिसकेको छ ।
प्रदेशसभा सचिवालय स्रोतका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयको अनुमति बमोजिम सभामुख प्रदीपकुमार भण्डारीका लागि करीब २ करोड रुपैयाँको सुविधा सम्पन्न दोस्रो गाडी खरीद गर्न लागिएको हो । संसद सचिवालयले सभामुख भण्डारीका लागि यसअघि नै एउटा स्कार्पियो गाडी खरीद गरिसकेको छ ।
यसैगरी सात ओटा विषयगत समितिका सभापति, प्रमुख विपक्षी दलका नेता र प्रमुख सचेतक, सत्तारुढ दलका प्रमुख सचेतकका साथै प्रदेशसभाका सचिवका लागि अधिकतम ७५ लाख रुपैयाँ मूल्यका ११ ओटा गाडी खरीद गर्न प्रदेशसभा सचिवालयले प्रक्रिया अगाडि बढाएको छ ।
सचिवालयले सत्ता पक्ष र प्रतिपक्षी दलका सचेतकलाई समेत गाडी खरीद गर्ने भन्दै आर्थिक मामिला तथा योजना मन्त्रालयसँग सहमति मागेको थियो । तर, मन्त्रालयले उक्त प्रस्तावलाई भने अस्वीकार गरेको थियो । १२ ओटा गाडी खरीदका लागि मन्त्रालयबाट सहमति पाएलगत्तै सचिवालयले बोलपत्र आह्वान गरेको हो ।
चालू आर्थिक वर्षको बजेटमा प्रदेशसभाको विपक्षी दलको नेता र प्रमुख सचेतक तथा सत्ता पक्षको प्रमुख सचेतकका लागि गाडी खरीद गर्न बजेट विनियोजन गरिएको थियो । तर, चालू वर्षमै प्रदेशसभाका विषयगत समितिका सभापति चयन भएकाले उनीहरूको सुविधाका लागि भन्दै रकमान्तर गरेर गाडी खरीद गर्न लागिएको हो । संसद सचिवालयले सभामुख भण्डारीका लागि भने यसअघि नै स्कार्पियो गाडी खरीद गरिसकेको छ । तर, सभामुखलाई प्रदेशको अति विशिष्ट व्यक्तिका रुपमा राख्दै पुनः उनका लागि करोडौं मूल्य पर्ने अर्को गाडी किन्ने प्रक्रिया अघि बढेको हो ।
उपसभामुख सरस्वती पोखरेलका लागि पनि यसअघि नै गाडी खरीद भइसकेको छ । प्रदेश सरकारले प्रदेशमा रहने विभिन्न विशिष्ट पदाधिकारीका लागि सवारी खरीद गर्नुपर्दा सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका–२०७५ बमोजिम गर्नुपर्ने भनेको छ ।
सभामुखको गाडी खरीदबारे बोलेनन् सचिव संसद सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले गाडी खरीदको प्रक्रिया अघि बढेको जानकारी दिए । उनले समितिका सभापति, प्रमुख प्रतिपक्षी दलको नेता र प्रमुख सचेतक तथा सत्ता पक्षका प्रमुख सचेतक र आफ्नो लागि समेत एउटा गरी ११ वटा गाडी खरीद गर्ने प्रक्रिया अघि बढेको बताए । तर, उनले सभामुखका लागि सुविधा सम्पन्न नयाँ गाडी खरीद गर्ने विषयमा भने बोलेनन् ।
प्रदेशसभाका सभापति बाहेकका पदाधिकारीहरूले अहिलेसम्म विभिन्न सरकारी कार्यालयबाट मगाइएका गाडी चढ्दै आएका छन् । प्रदेशसभाले पारित गरेको प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐनमा सभामुख, उपसभामुख, प्रमुख विपक्षी दलको नेता र सत्ता पक्षको प्रमुख सचेतकलाई अनिवार्य सवारी साधन उपलब्ध गराउने व्यवस्था छ । प्रमुख विपक्षी दलको प्रमुख सचेतकलाई सवारी साधन उपलब्ध हुन नसके मासिक १५ हजार रुपैयाँ इन्धन खर्च तोकिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।