मन्त्री र उपकुलपतिबीच द्वन्द्व : बीपी प्रतिष्ठानका विकासका योजना अलपत्र

Share News
दिनेश गजमेर धरान । विगत २ महीनादेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति र संघीय सरकारका स्वास्थ्यमन्त्रीबीच दूरी बढ्दै गएपछि प्रतिष्ठानमा विकास निर्माणका काम रोकिएका छन् । मन्त्रालयसँग समन्वय हुन सक्दा प्रतिष्ठानका रोकिएका योजनाहरूको काम अघि बढ्न सकेको छैन । प्रतिष्ठानको ४६औं सिनेट बैठकबाट बर्खास्तीमा परेका उपकुलपति प्राडा राजकुमार रौनियारलाई सर्वोच्च अदालतले चैत ४ गते पुनर्बहाली गरिदिएको थियो । सर्वोच्चको उक्त आदेशपछि स्वास्थ्यमन्त्री उपेन्द्र यादव र उपकुलपतिबीच दूरी बढ्दै गएको हो । स्वास्थ्यमन्त्रीले प्रतिष्ठानको विकास कार्य नरोक्ने भने पनि आन्तरिक द्वन्द्व बढ्दै गएपछि योजनाहरू अलपत्र परेका हुन् । तत्कालीन सिनेट बैठकले निमित्त उपकुलपतिमा वर्तमान रेक्टर प्राडा गुरु खनाललाई नियुक्ति गर्दै लामो समयदेखि रोकिएको विकास निर्माणका कामहरू अघि बढाउने निर्णय गरेको थियो । तर, सर्वोच्चको निर्णयले उक्त निर्णय लागू हुन सकेन । स्वास्थ्यमन्त्री र उपकुलपतिबीचको आन्तरिक द्वन्द्वले विकास निर्माणमा प्रभाव पारेको प्रतिष्ठानका प्रवक्ता प्राडा पशुपति चौधरीले बताए । ‘प्रतिष्ठान स्वायत्त संस्था भए पनि मन्त्रालयको सहकार्यमै विकास निर्माणका कामहरू अघि बढ्छन्, तर अहिले सहकार्य हुन सकेको छैन’, उनले भने । प्रतिष्ठानका मातृशिशु स्याहार केन्द्र, कार्डियोलोजी र अंकोलोजी भवनहरूको निर्माण अघि बढ्न सकेको छैन । यस्तै, कार्यकारिणी समितिका दुई पदाधिकारीको पदावधि सकिँदा पनि पदपूर्ति गर्न नसक्दा थप योजनाहरूको प्रस्ताव नै तयार गर्न सकिएको छैन । साथै, ३ वर्षदेखि विद्यार्थीका लागि दीक्षान्त कार्यक्रम आयोजना हुन सकेको छैन । कार्यसमितिका पदाधिकारीबीच नै मतभेद समेत देखिएको छ । प्रमुख पदाधिकारीहरूको आन्तरिक द्वन्द्वले प्रतिष्ठानको सेवा नै प्रभावित भइरहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।