नवराज शिवाकोटी
वैशाख ३१, दोलखा । प्रदेश ३ को नाम गौरिशंकर प्रदेश राख्न प्रस्ताव गरिएको छ । दोलखा क्षेत्र नम्बर एकबाट प्रदेशसभा सांसद विशाल खड्काले प्रदेशको नाम गौरिशंकर हिमालको नामबाट गौरिशंकर प्रदेश राख्न प्रस्ताव गरेका हुन् ।
प्रदेशको नाम र स्थायी राजधानीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमवारको प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । हिउँदे अधिवेशनमै नाम र राजधानी टुंग्याउने भनेर सरकारले झुक्याएको भन्दै कांग्रेसले नाम र राजधानीको प्रस्ताव नआएसम्म बैठक चल्न नदिने बताएको छ ।
मंगलवार प्रदेशसभा सचिवालय तथा नेकपा संसदीय दलको कार्यालयमा पौराणिक, ऐतिहासिक तथा सांस्कृतिक लगायत विभिन्न ६ आधारसहित आफूले गौरिशंकर प्रदेश नामाकरण गर्न प्रस्ताव दर्ता गराएको जानकारी गराए । नेपालको समय निर्धारण गर्ने विन्दु समेत गौरिशंकर हिमाल नै भएकोले प्रदेश ३ को नामाकरण गौरिशंकर राख्नु उपयुक्त र सान्दर्भिक हुने खड्काले आफ्नो प्रस्तावमा उल्लेख गरेका छन् ।
सांसद खड्का प्रदेश ३ को राजधानी सम्भाव्यता अध्ययन प्रतिवेदन समितिका संयोजकसमेत थिए । प्रतिवेदनले राजधानीका लागि पाँच स्थान प्रस्ताव गरेकोमा काभ्रे पहिलो नम्बरमा रहेको छ । नेकपा नेतृत्वको प्रदेश सरकारले भने प्रदेश सभामा नाम र राजधानीको प्रस्ताव लैजान सकेको छैन ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।