विद्युतमात्र हैन विद्युतीय उपकरण चलाउनसमेत सहज
वैशाख ३१, पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाको सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन भए पछि यहाँको दैनिकी फेरिएको छ । परीक्षण गरेको दुई वर्षपछि बिजुली उत्पादन गर्न थालिएको हो ।यो ठाँउमा बाक्लो कुहिरो लाग्ने र हावा चलिरहने भएकाले हावाबाट राम्ररी बिजुली उत्पादन हुने प्राविधिकहरुले ठहर गरेपछि बिजुली निकाल्ने तयारी थालिएको थियो । केन्द्रीय प्रशारण लाइन नपुगेको यस ठाउँमा हावाबाट २० किलोवाट विद्युत उत्पादन भइरहेको छ । हावाबाट निकालिएको विजुलीबाट दैनिकीमा सहज भएको स्थानीयको भनाइ छ ।
स्थानीय जीवनकुमार राईका अनुसार यहाँका करीब १५० घरमा विद्युत बाल्न मात्रै हैन, हिटर, फ्रिज, पंखा, राइसकुकर जस्ता उपकरण चलाउनसमेत सहज भएको छ । सप्तमी सौर्य, वायुऊर्जा मिनी ग्रिड नामक योजनामार्फत् हावाबाट बिजुली निकालीएकोे हो । एसियाली विकास बैंकको रू. ४ करोड ५० लाखको सहयोगमा हावाबाट बिजुली उत्पादन प्रक्रिया अघि बढाइएको थियो । कुल लागतको १० प्रतिशत लगानी स्थानीय उपभोक्ताले व्यहोरेका छन् ।
विजुली निकाल्ने जिम्मा टप सन इनर्जी काठमाडौं र कृष्ण ग्रिल कम्पनी जेभी विराटनगर निर्माण कम्पनीले लिएका थिए । वैकल्पिक ऊर्जा विकास केन्द्र काठमाडौंको प्राविधिक सहयोगमा काम गरिएको हो । यो योजनाबाट सौर्य ऊर्जामात्र होइन वायु ऊर्जा पनि उत्पादन हुने निर्माण पक्षले बताएको छ ।
सौर्यबाट ५० किलोवाट र वायुबाट २० किलोवाट गरी ७० किलोवाट विद्युत् उत्पादन हुने ठेकेदार कम्पनीले जानकारी दिएको छ । हावा तथा सोलारबाट निकालिएको विजुलीले स्थानीय सर्वसाधारणलाई मात्रै हैन यस ठाउँमा सञ्चालनमा रहेका उद्योगलाई पनि सहज भएको छ ।
नर्थ नेपाल टि स्टेट प्रा.लि. का ब्यवस्थापक मिलन राईका अनुसार दैनिक ५०० किलो चिया उत्पादन क्षमता भएको उनको उद्योगमा समेत हावाबाट निस्किएको विजुली प्रयोग भइहेको छ । उनले भने, ‘पहिले जेनेटरको भर थियो अहिले विद्युतलेनै उद्योग चलाइरहेका छौं ।’
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।