भीमेश्वरको फोहोर उठाउने जिम्मा निजी क्षेत्रलाई

Share News
दोलखा (अस) । भीमेश्वर नगरपालिकाको फोहोर निजी क्षेत्रले उठाउने भएको छ । नगर कार्यपालिकाको गत वैशाख ५ गते बसेको कार्यपालिकाको बैठकले फोहोरमैला व्यवस्थापन गर्ने जिम्मा निजी क्षेत्रलाई दिएको हो । नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि निजी कम्पनी एडीबी फोहोरमैला कबाडी प्रोसेसिङ एन्ड अग्र्यानिक मल उत्पादन केन्द्रलाई आर्थिक वर्ष २०७८/७९ सम्मका लागि जिम्मेवारीे दिएको नगरका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताए । फोहोरमैला उठाउन नगरको ठूलो रकम खर्च भइरहेकोले निजी क्षेत्रलाई फोहोर संकलन तथा व्यवस्थापनको जिम्मेवारी दिइएको उनको भनाइ छ । निजी क्षेत्रले फोहोरमैला व्यवस्थापन गर्न शुरू गरेपछि सदरमुकाम चरीकोट तथा दोलखा बजारका स्थानीय बासिन्दाहरूले फोहोर संकलकलाई सेवा शुल्क बुझाउनु पर्ने नगरले बताएको छ । नगरपालिका र कम्पनीबीच भएको सम्झौताअनुसार दोलखा र चरिकोट बजारका आवासीय घरहरू २ तल्लासम्मको भए मासिक सय तथा सोभन्दा माथि प्रतितला ५० रुपैयाँ थप शुल्क बुझाउनु पर्ने छ । यसैगरी प्रतिपसल ५० रुपैयाँ मासिक बुझाउनु पर्ने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार कम्पनीलाई स्थानीयबाट उठाइने सेवा शुल्कका अतिरिक्त मासिक १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउनेछ । फोहोरमैला संकलनमा खटिने कर्मचारीको पारिश्रमिक भने कम्पनीले बेहोर्नु पर्नेछ । यसअघि नगरपालिकाले फोहोरमैला उठाएको कर लगाउने गरेको थिएन ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।