पर्यटकको सुरक्षाका लागि प्रहरी बिट

Share News

सूर्यप्रसाद अधिकारी

जेठ ४, चितवन । हालै सरकारले १०० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको भरतपुर महानगरपालिका–२२ पटिहानीमा पर्यटन प्रहरी बिट स्थापना गरिने भएको छ । वडा कार्यालयको सक्रियतामा पुरानो वडा कार्यालयलाई मर्मत सम्भार गरी प्रहरी बिट सञ्चालनमा ल्याइने भएको हो ।

बिटको यही जेठ १० गते उद्घाटन गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए । बिटको उद्घाटन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गर्ने बताइएको छ । बिटमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ७ जना प्रहरी रहने महतोको भनाइ छ । महतोका अनुसार चितवनको दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकसित भइरहेको यस क्षेत्रमा पर्यटकको सुरक्षा र सहजताको लागि बिटको माग गरिएको हो । बिट स्थापना भएसँगै पर्यटकको साथै पर्यटन व्यवसायीले समेत सुरक्षित अनुभूति गर्ने उनको भनाइ छ ।

बिट सञ्चालनको लागि ६ ओटा विशेष साइरन जडित मोटरसाइकल र पर्यटक प्रहरी तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहले जानकारी दिए । पर्यटक प्रहरी बिट स्थापना भएसँगै यस क्षेत्रका पर्यटकीय क्षेत्र, जगतपुर, कसरा, सितामाई, बीस हजारी ताल लगायतका क्षेत्रहरुमा चौबिसै घण्टा पर्यटक प्रहरी खटाइनेछ । ‘त्यस क्षेत्रमा विगतमा पर्यटकमाथि दुर्व्यवहार भएका थिए, यसको न्यूनिकरण र पर्यटन प्रवर्द्धनको लागि बिटको आवश्यकता महशुस गरिएको हो’ शाहले भने ।

पर्यटक प्रहरी स्थापना भएसँगै यस क्षेत्रका पर्यटन व्यवसायी समेत उत्साहित भएका छन् । रिभरसाइड रोयल गार्डेन रिसोर्ट, पटिहानीका प्रबन्ध निर्देशक ऋषि न्यौपाने बिट स्थापना भएसँगै पर्यटकको संख्यामा समेत वृद्धि हुने बताउँछन् । ‘एक त पर्यटक संख्यामा वृद्धि हुन्छ, अर्को पर्यटक र हामी व्यवसायीले पूर्ण सुरक्षाको अनुभूति गर्नेछौं,’ उनले भने ।

यस अघि सौराहा क्षेत्रमा मात्रै पर्यटन प्रहरी बिट थियो । यस क्षेत्रमा साना ठुला गरी दुइ दर्जन होटल, रिसोर्ट सञ्चालनमा छन् । विशेषगरी यो क्षेत्रमा पर्यटकहरु पर्यापर्यटन र वन्यजन्तु अवलोकनका लागि आउने गर्दछन् । भरतपुर सदरमुकामबाट करीब १४ किलोमिटर दक्षिण पश्चिममा यो क्षेत्र पर्दछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।