जेठ ५, विराटनगर । संघीय संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विरोधमा मोरङका पत्रकारहरु रोएका छन् । आइतवार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको सांकेतिक विरोधका क्रममा पत्रकारहरु आँशु झार्दे रोएका हुन् ।
समाचार लेखेको कारण नयाँ विधेयकले रू.१० लाखसम्मको जरिवाना सजाय तोक्ने प्रावधान अघि सारेसँगै देशभरका पत्रकारहरु आन्दोलित हुँदै आएका छन् । विरोधका क्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले सरकारले ल्याएको विधेयक मान्य नहुने बताए ।

त्यसैगरि विरोधका क्रममा प्रेस यूनियन मोरङका अध्यक्ष कुमार लुइटेलले विधेयक कार्यान्वयनमा आए यसले स्वतन्त्र पत्रकारिता ध्वस्त हुने बताए । कार्यक्रममा प्रेस युनियन प्रदेश १ का संयोजक लिलाबल्लभ घिमिरेले विधेयकका कारण पत्रकारहरु त्रसित भएको उल्लेख गरे ।
सांकेतिक विरोधका क्रममा करीब ४५ मिनेट पत्रकारहरु रोएका थिए । विरोध कार्यक्रममा नागरिक समाजलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिकोसमेत सहभागिता थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।