सूर्यप्रसाद अधिकारी
चितवन । भरतपुर महानगरपालिका–२२, पटिहानीमा अम्ब्रेला स्ट्रिटको निर्माणलाई तीव्रता दिइएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सञ्चालन हुने गरी तयारी तीव्र पारिएको हो । साढे तीन करोड रुपैयाँ लागत अनुमान गरिएको अम्ब्रेला स्ट्रिटको निर्माण आधाभन्दा बढी पूरा भएको वडाध्यक्ष विष्णुराज महतोले बताए ।
उनका अनुसार हाल रेलिङ हाल्ने, भुइँमा कलात्मक ढुंगा बिच्छ्याउने र भ्यूप्वाइन्ट निर्माण लगायतको कार्य भइरहेको छ । शौचालय र सचिवालय भवन निर्माण तथा छाता ल्याउने काम मात्र बाँकी रहेको उनको भनाइ छ । यसका लागि पर्यटन मन्त्रालय र भरतपुर महानगरपालिकाबाट थप रकम प्राप्त भइसकेको उनले बताए ।
‘पर्यटन बोर्डबाट ५० लाख र महानगरबाट १५ लाख रुपैयाँ प्राप्त भइसक्यो । आगामी आर्थिक वर्षमा पर्यटन मन्त्रालय र प्रदेश मन्त्रालयबाट समेत बजेट निकासा हुने भएको छ,’ उनले भने । यस क्षेत्रलाई चिनाउन र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अम्ब्रेला स्ट्रिटको निर्माण तीव्र पारिएको हो । हालसम्म पूर्वाधारको कामको लागि १ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ ।
विश्व पर्यटनको अभ्यासमा समेत अम्ब्रेला स्ट्रिट र वाकिङ स्ट्रिट जस्ता पर्यटकीय केन्द्रमा पर्यटकको आकर्षण बढेकोले निर्माण थालिएको महतोले बताए । ‘मोरिसस र थाइल्यान्डमा पर्यटकलाई आकर्षण गर्न यस्ता प्वाइन्ट सञ्चालनमा ल्याइएको देख्यौं । यस्ता खालका संरचनामा पर्यटकको आकर्षण बढी हुँदो रहेछ,’ उनले भने ।
विदेशमा समुद्रको किनारमा यस्ता पर्यटकीय केन्द्र हुने गरेकोमा यहाँ पनि राप्ती किनारमा बनाइन लागेको उनको भनाइ छ । करीब १० कठ्ठा क्षेत्रफलमा फैलिएको सो स्थानमा लहरै ४ सय ५० ओटा ठूला फाइबरका छाता रहनेछन् । छातामुनिबाट पर्यटकहरू हिँड्ने र बस्न मिल्ने भएकोले पनि यसको नाम अम्ब्रेला स्ट्रिट राखिएको हो ।
पर्यटकको सुविधाको लागि यहाँ भ्यूप्वाइन्ट, रेष्टुरेन्ट, डेटिङ प्वाइन्ट, सेल्फीगेट, पार्किङ, महिला तथा अपांगमैत्री शौचालय रहने अध्यक्ष महतोले जानकारी दिए । उनका अनुसार हिँडेर सो क्षेत्रमा पर्यटक जाने हुनाले यसभित्र कुनै सवारीसाधन गुडाउन पाइने छैन । यहाँबाट सूर्योदय र सूर्यास्त देख्न सकिने राप्ती नजीकबाट देखिने वन्यजन्तु र हरियाली वातावरणको मजा लिँदै पर्यटकले आनन्द लिनसक्ने उनले बताए ।
पर्यटन गतिविधि बढ्दै गएकोले यस क्षेत्रमा ठूलाठूला होटल तथा रिसोर्ट निर्माण हुने क्रम बढेको छ । यस क्षेत्रमा दुई दर्जनभन्दा बढी साना ठूला होटल तथा रिसोर्ट सञ्चालनमा छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।