विराटनगर । प्रदेश–१ सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेको छ । गत वर्षभन्दा २५ प्रतिशत बढी बजेट बढाउने प्रदेश सरकारको तयारी छ ।
प्रदेश योजना आयोगले प्रदेशको भौगोलिक, जनसांख्यिक, आर्थिक क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, वातावरणीय अवस्था, दिगो विकास लक्ष्यलगायतमा प्रदेशको अवस्था समेटेर प्रदेशको वस्तुस्थिति विवरण तयार गरिसकेको छ । त्यसकै आधारमा प्रदेश सरकारले आगामी आव २०७६/७७ को बजेटको तयारी थालेको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता हरिहर पौडेलले जानकारी दिए ।
बजेट तयार गर्न प्रदेश योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा बनेको स्रोत अनुमान समितिको बैठकले बजेटको स्रोत, कार्यक्रम, चालू आर्थिक वर्षको खर्च र बचतलगायतको विवरण तयार पार्न मन्त्रालयहरूलाई आग्रह गरेको छ ।
पौडेलका अनुसार मन्त्रालयबाट चालू आवको बजेट खर्च र बचत हुने रकम छिटै टुंगो लगाउन आग्रह गरिएको छ । प्रदेशको चालू आवको बजेटबाट बचत हुने रकम टुंगो लाग्ने र आगामी आवको बजेटको सिलिङ तय गर्ने तयारी मन्त्रालयको छ ।
‘शुक्रवारसम्ममा बजेटको सिलिङ तय हुनेछ । त्यसपछि बजेट बाँडफाँटको प्रक्रिया अगाडि बढ्नेछ,’ उनले भने । प्रदेश सरकारले चालू आवका लागि रू. ३५ अर्ब ९३ करोड ६० लाखको बजेट ल्याएको थियो ।
आर्थिक मामिला मन्त्रालयका अनुसार चालू आवमा प्रदेश सरकारको आन्तरिक राजस्वतर्फ ३ अर्ब ६६ करोड ८८ लाख ३३ हजार रुपैया संकलन गर्ने अनुमान राखेको थियो । ८ महीना अर्थात् फागुनसम्म ७५ प्रतिशत राजस्व संकलन भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।
आगामी आवमा पनि प्रदेश सरकारले भौतिक पूर्वाधारमै बढी बजेट छुट्याउने भएको छ । प्रदेश सरकारले चालू आवको दोस्रो चौमासिक सकिँदासम्म कुल पूँजीगत बजेटमध्ये २० प्रतिशत मात्र खर्च गर्न सकेको छ । आवको अन्त्यसम्म ६० प्रतिशत विकास बजेट खर्च गर्ने प्रदेश सरकारको लक्ष्य छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।