सूर्यमुखीमा सेल्फी खिच्न भिड, प्रतिव्यक्ति रू. १० दिनुस् !

Share News

जेठ ६, वीरेन्द्रनगर(सुर्खेत) । बुलबुले ताल नजिक ढकमक्क बारीमा फुलेको पहेंलो फूल वरिपरि हरियाली छ । छेउमै तालमा डुंगा सयर गरिरहेको । त्यहाँ पुग्ने जो कोही तस्वीर नलिइकन फर्कन मान्दैनन् । बुलबुले ताल हेर्न जानेको तस्वीर खिचाउनको लागि भीडभाड देखिन्छ, आजभोलि ।

तस्वीर खिच्नेको लाइनमा कोही आफ्ना सेल्फी खिच्दै, कोही अरु साथीहरुको तस्वीर खिचिदिँदै । कोही पहेंलै फुलेका फूलको दृश्य अवलोकन गर्दै । यो दृश्य हो सुर्खेतको बुलबुले उद्यान नजिक रहेको सूर्यमुखी खेती गरिएको एक बारीको । चारजना युवा मिलेर व्यावसायिक रुपमा सूर्यमुखीको खेती गरेको यो बारी अहिले आन्तरिक र बाह्य पर्यटकको लागि आकर्षण बन्ने गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालसँगै मनोरञ्जनात्मक भिडियो बनाइने ‘टिकटक’मा यो बारीको दृश्य धेरै नै प्रयोग हुँदै आएको छ ।

‘दिनमा १५० भन्दा धेरै यहाँ आउँछन्, शनिवार त ३०० जति पुग्छ ’, उक्त सूर्यमुखी खेती गरेकामध्ये कपिल अधिकारीले भने, ‘हाम्रो बुलबुले नजिकै भएकाले त्यहाँ आउने यहाँ अनिवार्य आउँछन् ।’ स्थानीय कपिल अधिकारी, लक्ष्मी अधिकारी, धनिराम अधिकारी र सज्ज ढकाल मिलेर छ कट्ठा जमीनमा व्यावसायिक रुपमा सूर्यमुखीको खेती गरिएको छ ।

वार्षिक रू.१ लाख ४० हजार भाडामा जग्गा लिएर गरिएको फूल खेतीमा रू. २ लाखभन्दा धेरै लगानी लागेको सज्जन ढकालले बताए । सूर्यमुखीको बारीमा फोटो खिचाउन आउने मानिसले प्रतिव्यक्ति रू. १० तिर्नुपर्छ । यसरी दैनिक १५० मात्र आए पनि न्यूनतम रू. १ हजार ५०० आम्दानी हुन्छ ।

‘मानिस टिकटकको भिडियो बनाउनेदेखि फोटो खिच्नेसम्म यो बारीभित्र पस्ने गर्छन्’, उनले भने, ‘त्यसबेला धेरै बोट भाँचिन्छन् , हामीले घाटा व्यहोर्नुपर्छ, यसकारण प्रतिव्यक्ति रू. १० लिने गरेका हौं ।’ यो पहिलो अनुभव भएकाले अहिलेको खेती सिकाइका रुपमा मात्र आफूहरुले लिएको उनको भनाइ छ । अहिलेको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा सूर्यमुखीको खेतीमा वृद्धि गर्ने योजना रहेको ढकालको भनाई छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।