आकाश तारा बयक
जेठ ६, सुर्खेत । सल्यानको सल्लीबजारदेखि रुकुमको चौरजहारीसम्म सडकको ट्रयाक खालेको वर्षौं बितिसक्दासमेत तीन किलोमिटर मात्र कालोपत्र भएको छ । बन्गाडकुपिण्डे नगरपालिकाको सल्लीबजारदेखि रुकुमको चौरजहारीसम्मको सडकको ट्रयाक १५ वर्ष पहिलेनै खोलिए भएपनि स्तरोन्नतीको प्रगति न्यून छ ।
सम्वन्धित् निकाय र निर्माण व्यवसायीको बेवास्ताका कारण स्थानीयबासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सल्लीबजारदेखि चौरजहारीसम्मको ४१ किलोमिटर सडक स्तरोन्नती नहुँदा यात्रुहरु धुलाम्मे र हिलाम्मे यात्रा गर्न बाध्य छन् । सडक स्तरबृद्धिका लागि सडक डिभिजन कार्यालय दाङले रू. १० करोड बढी खर्च गरिसकेको छ । तर सडक वर्षेनी जीर्ण बन्दै गएको छ । सडक स्तरोन्नतीको काम बीचमै अलपत्र परेपछि यात्रुलाई सास्ती भएको हो । ठेकेदारले स्तरोन्नतीको जिम्मा लिए पनि बीचैमा काम छाडेर भाग्ने गरेकाले सडकको अवस्था सुधार हुन सकेको छैन ।
यात्रुहरु बर्षामा हिलाम्मे र अन्य समयमा धुलाम्मे यात्रा गर्न बाध्य छन् । ठेकेदार भाग्ने समस्याका कारण सडकको तीन किलोमिटर खण्डमात्र कालोपत्र भएको छ । सल्लीबजार–चौरजहारी सडक सञ्जालमा जोडिएपछि विकासका अन्य गतिविधि र सेवासुविधा बढ्ने स्थानीयको अपेक्षा थियो । तर ट्रयाक खोलिए पनि स्तरोन्नती नहुँदा समस्या भएको स्थानीय बासिन्दा बताउँछन् । उक्त सडकखण्डको स्तरोन्नतीका लागि अहिलेसम्म १० ओटा कम्पनीले जिम्मा लिए तर आधा पनि काम हुन सकेन ।
उक्त सडकमा ट्रयाक बाहेक स्तरवृद्धिको नाममा रू. १० करोड भन्दा बढी खर्च भइसकेको छ । सडक खण्डमा पर्ने बनगाड खोला र स्यानीपिपली खोलामा पूल बन्न नसकेकै कारण जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । गत आवमा सात किलोमिटर कालोपत्र गर्न सडक डिभिजन कार्यालयले रू.११ करोड बिनियोजन गरेको भएपनि ठेकेदारले काममा ढिलाइ गरिरहेको छ ।
गत वर्ष गजुरमुखी र गाल्भा जेभीका तर्फबाट रामबहादुर बिष्टले कामको जिम्मा लिएको भएपनि ती कम्पनीले सात महीनादेखि निर्माणस्थल छाडेका छन् । सडक डिभिजन कार्यालय दाङसँग ३३ महीनामा काम पुरा गर्नेगरी निर्माण कम्पनीले सम्झौता गरेको थियो । सडकको जिम्मा प्रदेश सरकार मातहत गएपछि ठेकेदार कम्पनीले थप बेवास्ता गरिरहेको स्थानीयको भनाइ छ । बन्गाडकुपिण्डे नगरपालिका प्रमुख गोबिन्दकुमार पुनले पनि सल्लीबजार—चौरजहारी सडकमा ठेकेदारले आलटाल गरिरहेको बताए ।
‘पटक—पटक ठेकेदार कम्पनीलाई काम छिटो सम्पन्न गर्न ताकेता गरिरहेको छु,’ उनले भने, ‘तर विभिन्न बहाना बनाइ ठेकेदार पक्षले निर्माणमा ढिलाइ गरिरहेको छ ।’ अहिले सडक डिभिजन कार्यालय दाङको जिम्मेवारी सरेर सुर्खेतमा आएको छ । डिभिजन कार्यालय, सुर्खेतले सल्लीबजार—चौरजहारी सडकको बजेट निकासा गरिसकेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए ।
‘यस वर्ष सडक स्तरोन्नतीको कामका लागि क्रमागत बजेट बिनियोजन गरिसकिएको छ, ठेकेदार पक्षलाई काम छिटो सक्न ताकेता गरिरहेका छौं,’ उनले भने, ‘अहिलेको काम सम्पन्न भए आगामी वर्ष कालोपत्रका लागि प्रयाप्त रकम बिनियोजन गरिने छ ।’ उनले प्रदेश राजधानी सुर्खेतलाई विभिन्न जिल्ला जोड्ने सजिलो र सहज मार्ग भएकाले सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।