रेडक्रिसेन्टको सहयोगमा गाई बाँड्दै रेडक्रस

Share News

जेठ ७, चितवन । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले जिल्लामा १०० ओटा गाई वितरण गरेको छ । रेडक्रसले जीविकोपार्जन कार्यक्रमअन्तर्गत कतारस्थित रेडक्रिसेन्टको सहयोगमा यहाँका विभिन्न ठाउँका कृषकहरुलाई गाई वितरण गरेको हो । योसँगै ६०० परिवारलाई मल र बीउ पनि वितरण गरिएको छ । शाखा सभापति ज्ञानशाली न्यौपानेका अनुसार माडी नगरपालिकामा ६०, भरतपुर महानगरपालिकाको जगतपुरमा १५, मंगलपुरमा १५ र राप्तिको पिप्लेमा १० गाई वितरण गरिएको हो । वन्यजन्तुको आक्रमण र बाढीबाट प्रभावित क्षेत्रका बासिन्दालाई गाई र मल बीउ पनि वितरण गरिएको हो । माडीका सबै क्षेत्रसँगै भरतपुरको जगतपुरमा रेडक्रस ग्राम र मंगलपुरको नारायणी तटीय क्षेत्रमा गाई वितरण गरिएको उनले बताए । पिप्लेमा पनि बाढीबाट प्रभावित भएकालाई प्राथमिकता दिएर गाई वितरण गरिएको थियो । सभापति न्यौपानेका अनुसार एउटा गाई खरीदका लागि कृषकलाई रू. ५५ हजार उपलब्ध गराइएको थियो । एक छाकमा कम्तिमा पाँच लिटर दूध दिने र दुई बेतभन्दा बढी नब्याएका गाई स्वयं कृषकलाई नै खरीद गर्न लगाइएको र उनीहरूले रू. ५५ हजारदेखि रू. १ लाख २ हजारसम्मका गाई खरीद गरेका उनले बताए । नपुग रकम कृषक आफैंले थप गरेर गाई किनेका हुन् । रेडक्रसको सम्बन्धित् उपशाखा प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधिको रोहवरमा कृषक छनोट गरिएको हो । छनोट गर्दा गरीब र काममा जाँगरिला कृषक छनोट गरिएको सोसाइटीले बताएको छ । ती गाईको बीमासमेत गरिएको छ । यसैगरी पिप्ले बाहेकका गाई वितरण गरिएका तीन क्षेत्रका ६०० परिवारलाई सोसाइटीले मकैको बीउ र मल वितरण गरेको थियो । एक परिवारलाई पाँच किलोग्राम रामपुर कम्पोजिट मकैको बीउ र पाँच/पाँच किलोग्राम डिएपी र युरिया मल वितरण गरिएको थियोे । कृषकलाई गाई, बीउ र मल दिनुअघि र पछि तालीमसमेत दिइएको थियो । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।