सूर्यप्रसाद अधिकारी
चितवन । नारायणगढ मुग्लिन सडक अन्र्तगत रहेको दासढुंगादेखि गाँजीपुर क्षेत्रसम्मको नारायणी नदी क्षेत्रलाई समेटेर एकीकृत रूपमा विकास गर्न यहाँका जनप्रतिनिधि तथा व्यवसायीहरूले सुझाव दिएका छन् । जलगतिविधिको प्रचुर सम्भावना भएको नारायणी नदीलाई पर्यटन गतिविधिसँग जोडेर विकास गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् ।
प्रदेश नीति तथा योजना आयोग प्रदेश नम्बर ३ र मदन भण्डारी फाउण्डेशनको संयुक्त आयोजनामा मंगलवार भरतपुरमा आयोजित ‘दासढुंगा नारायणी एकीकृत विकास परियोजना’ अन्तर्गत तयार पारिएको गुरुयोजनामाथिको छलफल कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा योजनाविज्ञ बाबुराम भट्टराईले मदन भण्डारीको दुर्घटना स्थलदेखि उनको शव भेटिएको स्थलसम्म जलगतिविधि, पर्यटन गतिविधि तथा जैविक विविधतालाई चिनाउन एकीकृत परियोजनाको खाका तयार पारेको बताए । उनका अनुसार दासढुंगा वरपर रहेको खाली जग्गालाई मदन आश्रित पार्क, म्यूजियम, क्यान्टिन, राजमार्ग सर्भिस सेन्टर तथा अनुसन्धान केन्द्र बनाउने योजना रहेको छ ।
गाँजीपुर स्थान जैविक विविधताले भरिपूर्ण रहेको र चितवन राष्ट्रिय निकुञ्ज नजीकै रहेको कारण बाघहरूको ‘प्रजनन केन्द्र’को रूपमा विकसित गर्ने योजना रहेको बताए । योजनामा जैविक विविधिता सेन्टर र बांँस तथा निगालोको पकड क्षेत्र भएको त्यस क्षेत्रका लागि यसबाट उत्पादित विभिन्न उत्पादन गर्दै स्थानीयलाई रोजगारी सृजना गर्न सकिने उल्लेख छ ।
कार्यक्रममा दासढुंगादेखि गाँजीपुरसम्म क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाका वडाहरूमा पर्ने पर्यटकीय गन्तव्यलाई स्तरोन्नति गर्न जनप्रतिनिधिहरूले सुझाव दिएका छन् । वडा नम्बर २९ का अध्यक्ष मानबहादुर रानामगरले कतिपय जनमानसले राजमार्गमा रहेको दासढुंगा नै थाहा नपाएको कारण यसलाई चिनाउने गरी योजना बनाउन सुझाव दिए । विगत २६ वर्षदेखि यस ठाउँको संरक्षण गर्न नसकेको भन्दै उनले संरक्षण र मर्मत सम्भार गर्न सके पर्यटक तान्न सकिने धारणा राखे ।
पछिल्लो समय नारायणी नदी किनारमा मानिसहरूको आकर्षण बढेको भन्दै उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष सहनलाल प्रधानले नारायणी नदीको बीचमा रहेको नगरवनलाई खुल्ला चिडियाखानाको रूपमा विकास गर्नुपर्ने बताए । ठिमुरामा रहेको ५० बिघा खाली जग्गालाई जलगतिविधिको रूपमा प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।
भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले चितवनमा प्रशस्त सम्भावना बोकेको दुई नदी नारायणी र राप्ती रहेको भन्दै ठीक समयमा ठीक निर्णय गर्न सकेको खण्डमा चितवनले पर्यटन क्षेत्रमा फड्को मार्ने बताइन । योजना कार्यान्वयन र व्यवस्थापन गर्न कठिनाइ हुने भन्दै उनले सम्बन्धित सबैसँग छलफल गरी अघि बढेको खण्डमा योजना सफल हुने धारणा राखिन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।