३० लाखको लागतमा ७ हेलिप्याड निर्माण

Share News

नवराज शिवाकोटी

जेठ ८, दोलखा । दोलखाको शैलुङ गाउँपालिकामा ३० लाख रुपैयाँको लागतमा ७ ओटा हेलिप्याड निर्माण गरिएको छ । विपद पूर्वतयारी स्वरुप शैलुङ गाउँपालिकाका ८ ओटा वडालाई पायक पर्ने गरी विपदको समयमा उद्धार कार्यलाई सहज बनाउन हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए ।

विपद पूर्वसूचना दिएर नआउने भएकाले विपद आएपछि आत्तिएर काम गर्नुभन्दा पहिले नै सतर्क रहन आवश्यक पूर्वतयारी स्वरुप गाउँपालिकाले चालू आर्थिक वर्षमा हेलिप्याड निर्माण गर्न बजेट विनियोजन गरेको र सोही अनुसार निर्माण कार्य सम्पन्न गरिएको अध्यक्ष दूलालले आर्थिक अभियानलाई बताए ।

वडा नम्बर एकको भष्मे डाँडा, दुईको थगम, तीन र चारलाई पायक पर्ने गरी दुर्गामावि निकट भैंसेमा हेलिप्याड निर्माण गरिएको छ । यस्तै वडा नम्बर पाँचका लागि बोझेनी डाँडा, छका लागि घडीको आहाल, सातका लागि सागुते र आठका लागि भैंसे बजारमा हेलिप्याड निर्माण गरिएको शैलुङ गाउँपालिकाले बताएको छ ।

विपदको समयमा हेलिकोप्टर अवतरण/उडानका लागि प्रयोग गर्न हेलिप्याड बनाइएका स्थानलाई समान्य अवस्थामा खेलकुद मैदानको रुपमा समेत प्रयोग गर्न सकिने गाउँपालिकाको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।