जेठ ११, विराटनगर । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महीनामा कूल रू. ३१ अर्ब ७५ करोड ७२ लाख ७४ हजार राजस्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले रू.४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । १० महीनाको अवधिमा लक्ष्यमा ७४ दशमलव ६७ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । गएको वर्षमा सो अवधिमा रू. २५ अर्ब ३० करोड ८३ लाख ५२ हजार राजस्व संकलन गर्ने लक्ष्यमा रू. २५ अर्ब ३४ करोड ५६ लाख ८४ हजार राजस्व संकलन गरेको थियो । गत वर्षको तुलनामा चालू आवको सो अवधिमा रू. ६ अर्ब ४१ करोड १५ लाख ९० हजार बढी राजस्व संकलन भएको हो ।
राजस्व संकलनको स्थिति हेर्दा गएको वर्षमा साउन र भदौ महीनाबाहेक प्रत्येक महीनामा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको देखिन्छ भने चालू आवमा साउन महीनामा १०० दशमलव ६८ प्रतिशत र असोज महीनामा १३३ दशमलव ५६ प्रतिशत प्रगति भए पनि अन्य महीनामा राजस्व संकलनमा गिरावट आएको देखिन्छ । लक्ष्य अनुसारको राजस्व संकलन गर्न कार्यालयलाई बाँकी दुई महीनामा कठिन यात्रा गर्नुपर्ने अवस्था देखिन्छ भने लक्ष्यमा पुग्न रू. १० अर्ब ७७ करोड ४६ लाख ४४ हजार राजस्व उठाउनुपर्ने स्थिति छ ।
राजस्व संकलनको स्थिति हेर्दा अब कार्यालयले दुई महीनामा रू. ६ अर्बभन्दा बढी उठाउन सक्ने अवस्था छैन । लक्ष्यअनुसारको प्रगति नभएको जिज्ञासामा कार्यालयका निमित्त प्रमुख मणिराम पौडैलले विभागको महत्वाकांक्षी लक्ष्य र यो नाकाबाट आयात ह्वातः घट्नु हो भनेका छन् । उनले गएको वर्षको तुलनामा सो अवधिमा २५ प्रतिशत राजस्व बढी संकलन भएको छ भने । चालू आवमा वैशाख महीनासम्ममा कूल रू.२१ अर्ब २१ करोड १० लाख ७१ हजार मूल्य बराबरको सामान निकासी र रू. १ खर्ब ३६ अर्ब ११ करोड ७१ लाख ७८ हजार मूल्य बराबरको सामान पैठारी भएको छ । गएको वर्षमा सो अवधिमा निकासी रू. २० अर्ब १० करोड ७ लाख ६० बराबरको र पैठारी रू.१ खर्ब १८ अर्ब १० करोड ५६ लाख ३३ हजार मूल्य बराबरको सामान पैठारी भएको थियो । विराटनगर भन्सारदेखि भारत तथा समुन्द्रपार निकासी वस्तुमा पिना, भेनीयर सीट, वनस्पति उत्पादनहरु, चोकर भुस, खजुरको प्रशोधित तेल, सेन्थेटिक यार्न, जुटका बुनिएका कपडा, बोरा र झोला, अन्य रेशाको कपडा, जिआई वायर रहेका छन् । त्यस्तै भारत तथा समुन्द्रपार पैठारी वस्तुमा हाइस्पीड डिजेल, एमएस विलेट, तयारी कपडा, पेट्रोल, पोलिथिन दाना, सिआर सीट, स्टील वायर रड इन क्वायल र एमएससम्म, एल पि ग्यास, एच.आर.सीट र सिमेन्ट क्लिकंर छन् । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।