बागमती प्लास्टोटेकमा मजदुरको धर्ना, श्रम ऐन अनुरुप ज्याला पाउनुपर्ने माग

Share News

जेठ १३, विराटनगर । विराटनगर १३ स्थित बागमती प्लास्टोटेक प्रा.लि. उद्योग परिसरमा मजदुरहरु धर्ना बसेका छन् । बिना कारण निस्काशन गरिएका मजदुरहरुलाई पुर्नबहाली गराउन र श्रम ऐन अनुसारको पारिश्रमिक पाउनुपर्ने माग गर्दै सो उद्योगमा कार्यरत मजदुरहरु उद्योगको गेटमा धर्नामा बसेका छन् ।

उद्योगले श्रम ऐन अनुसार पारिश्रमिक नदिई श्रम शोषणसमेत गरेपछि मजदुरहरुले आवाज उठाएकै कारण गत पुस महीनामा आठ जना मजदुरलाई उद्योगले निस्काशन गरेको मजदुरहरुले बताएका छन् । पछि तीन जना मजदुरलाई काममा फर्काइएपनि पाँच जनालाई बेवास्ता गरिएपछि मजदुरहरु श्रम कार्यालय गुहार्न पुगेका थिए ।

श्रम कार्यालयले समेत निस्काशित गरिएका श्रमिकलाई सात दिनभित्र पुर्नबहाली गर्न गत चैत्र २७ गते निर्देशन दिएको जनाइएको छ । तर उद्योगले त्यसलाई कार्यान्वय नगरेपछि मजदुरहरुले उद्योग संचालनमा अवरोध गर्दै गेटमै धर्ना दिइरहेका छन् । अधिकार माग्दा मजदुरलाई निस्काशन गरिएको र श्रम शोषणसमेत गरिएकाले बाध्य भएर धर्नामा बस्नुपरेको समाजबादी लोकतान्त्रिक ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष मोहम्मद नसरुलले बताए ।

मजदुरहरुलाई पुर्नबहाली नगरेसम्म धर्ना जारी रहने उनले बताए । उक्त उद्योगमा २० जना मजदुर कार्यरत छन् । यसैबीच उद्योगका एक्ज्युकेटिभ अमित राठीले समयगत आधारमा तीन महीना समयावधिका लागि राखिएका केहि मजदुरलाई हटाउँदा मजदुरहरुले विवाद गरेको बताए । उनले निष्कासन गरिएका मजदुरहरुले काम गर्न इच्छुक अन्य मजदुरलाईसमेत काम गर्न नदिएर उद्योगमा अवरोध सृजना गरेको बताए । उनले उद्योगमा कार्यरत मजदुरहरुलाई श्रम ऐन अनुसारको तलबसुबिधा दिने गरेको दाबी समेत गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।