बसपार्कमा पार्किङ सहितको सीनेमा घर बनाउन डीपीआर तयार

Share News

जेठ १४, इलाम । इलाम बजारमा रहेको पुरानो बसपार्कमा मुख्यमन्त्री बहुतले पार्किङ तथा सीनेमा हल बन्ने भएको छ । यो घर बनाउनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरि स्ट्रेन्थ इञ्जिनीयरीङ कम्पनीले नगरपालिकालाई बुझाएको छ । नौ महीना लगाएर तयार पारिएको डिपीआर अनुसार चार तले पार्किङसहितको भवन बनाउनका लागि रू.२३ करोड ६१ लाख १ हजार लाग्ने छ ।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले नगरको मात्र आन्तरिक श्रोतले नभ्याउने हुँदा भवन निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिने जानकारी दिए । उनले प्रदेशको सडक सुशासन र केन्द्रको नीति तथा कार्यक्रम अनुसार भवन बनाउनका लागि प्रस्ताव लैजाने पनि बताए । संभवत आउदो आर्थिक वर्षमा यो भवन निर्माण शुरु हुने छ ।

यहाँको पुरानो बसपार्कमा हाल २५ ओटा सवारी साधन पार्किङको व्यवस्था रहेको छ । तर पार्किङसहितको नयाँ सीनेमा घर बनेपछि ४७ ओटा जीपकार, र २०० मोटरसाइकल पार्किङ गर्न सकिनेछ । तीन रोपनी १० आना क्षेत्रफलमा बन्न लागेको भवनमा भूमिगत एक तलामा समेत पार्किङ गर्न सकिने छ । यस्तै भुईं तल्ला र पहिलो तल्लामा समेत पार्किङको व्यवस्था गरिने छ । माथिल्लो दुई तल्लामा चार ओटा सिनेमा घर सञ्चालन गर्न सकिने छ । अण्डर ग्राउण्डमा १८ ओटा, भुईंतल्लामा १३ र पहिलो तल्लामा १६ ओटा गाडि पार्किङ हुने डिजाइन गरिएको कम्पनीका इञ्जिनीयरहरुले जानकारी दिए ।

१७ मीटर उचाई भएको भवन निर्माण पछि यहाँ कम्तिमा २० कर्मचारी व्यवस्थापनमा राख्नुपर्ने अुनमानित योजना छ । यस्तै एक वर्ष उक्त भवन संचालनका लागि करिव ८९ लाख खर्च हुने बताइएको छ । तर करीब नौ बर्षमा भवनबाट पुर्ण लागत उठ्ने समेत बताइएको छ । भवन भित्र काउण्टरहरु, फ्रेस रुमहरु हुने छन् । इलाम नगरपालिका ९ को सेरामा नयाँ वसपार्क निर्माण पुरा भइसकेकोले नगरपालिकाले बजारको पार्किङलाई व्यवस्थापन गर्नका लागि उक्त परियोजना अगाडि बढाएको दाबी गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।