सौराहामा गैंडाको झझल्को दिने सभाहल निर्माण गरिँदै, १ हजार सहजै बस्न सक्ने

Share News

जेठ १४, चितवन । पर्यटकीय नगरी सौराहामा गैंडाको झझल्को दिने गरी सौराहा सभाहल निर्माण गरिने भएको छ । रत्ननगर नगरपालिका–७ सिस्वारचौरमा रू. ५५ करोडको लागतमा सुविधा सम्पन्न सभाहल निर्माण गर्न लागिएको हो ।

सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका इञ्जिनीयर सृष्टि भुसालका अनुसार सभाहलको बोलपत्र आह्वान भइसकेको छ । पछिल्लो प्रविधि अपनाएर बनाउन लागिएको सो सभाहल २ हजार १०० वर्गमिटरको हुने भुसालले बताए । सभाहलमा १ हजार सहजै बस्न सक्नेछन् । यसका अतिरिक्त १५० क्षमताको बैठककक्ष, आकर्षक स्टेज, पूर्वतयारी कक्ष, शौचालय, कार्यक्रममा नाम दर्ता गर्ने ठाउँ, भवनभित्र खुला क्षेत्र रहनेछन् । उनले भवनको अगाडिको भाग गैंडाको टाउकोजस्तो देखिने गरी नक्साङ्कन गरिएको जानकारी दिए ।

दुई वर्ष भित्रमा सभाहल निर्माण सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले राष्ट्रिय र अन्तरराष्ट्रिय ठूला कार्यक्रम गर्न सभाहल उपयोगी हुने बताए । मानिस बस्नका लागि होटल भएकाले सभाहल बनेसँगै धेरैको कार्यक्रम गर्ने चाहना सौराहा बन्ने उनको भनाइ छ ।

क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहामा हाल ११० ओटा होटल रहेका छन् । जहाँ २ हजार ७५० जना बस्न सक्ने क्षमता रहेको छ । सभाहलको अभावमा सौराहामा ठूला कार्यक्रम कम आउने र पालको भरमा कार्यक्रम गर्नुपर्ने बाध्यता यसले अन्त्य गर्ने उनले बताए । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।