उद्योगीको निर्वाचनमा राजनीतिक रङ

Share News
सुनसरी (अस) । उद्योगी तथा व्यवसायीको हितका लागि स्थापना भएको उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन राजनीतिक पार्टीको जस्तो देखिएको छ । राजनीतिक पार्टीको कित्तामा विभाजित हुँदै उद्योगीहरू चुनावी मैदानमा छन् । संघको नेतृत्वका लागि नेकपाबाट शैलेश विष्ट र नेपाली कांग्रेस तथा राप्रपा नेपाल निकटका व्यवसायीको तर्फबाट भीम पौडेल मैदानमा उत्रिएका छन् । दुवै उम्मेदवारले व्यापारीको मुद्दाभन्दा पनि पार्टीको घोषणापत्रमा उल्लेख भएका नारालाई चुनावी एजेन्डा बनाएका छन् । तीन वर्षे कार्यकालका लागि उम्मेदवारी दिएका उम्मेदवारहरू स्थानीय तह तथा संसद्को निर्वाचन जस्तै गरी पार्टीमा विभाजित भएर निर्वाचनमा होमिएको व्यवसायीहरू बताउँछन् । संघमा यो वर्ष २ हजारभन्दा बढी मतदाता थपिएका छन् । विगतमा ४ हजार १०१ जना मतदाता रहेकोमा यो वर्ष बढेर ६ हजार १०१ जना मतदाता पुगेको संघले जानकारी दिएको छ । संघका अनुसार दर्ता र नवीकरणको काम सकिएर अहिले कम्प्युटरमा इन्ट्री गराउने काम शुरू भएको छ । विष्ट नेतृत्वको नेकपा निकट व्यवसायीको प्यानलले चुनाव आउनु एक महीनाअघि नै घरदैलो गरिरहेको छ भने पौडेलको नेतृत्वको संयुक्त प्यानल व्यवसायीका समस्या समाधान गर्ने टिम भएको दाबी गर्दै बजारमा प्रवेश गरेको छ । बजारमा उद्योग व्यापार व्यवसाय सञ्चालन गरेर बसेका मतदाता उद्योगी व्यापारीहरूलाई फकाउन व्यापारीभन्दा पनि पार्टीका नेताहरू गाउँ–गाउँ जान थालेका छन् । संघको निर्वाचन असार २३ गते हुने भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।